Butwal Today

बुटवलमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका जुस नष्ट

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल । चाडपर्वलाई लक्षित गर्दै बुटवलमा बजार अनुगमन तीव्र पारिएको छ । चाडपर्वका समयमा उपभोक्ताको माग बढ्ने मौका छोपेर हुन सक्ने कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा म्याद गुज्रिएका र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न सम्बन्धित निकायले बजार अनुगमनलाई तीव्रता दिएका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा र इलाका प्रशासन कार्यालय बुटवलको संयुक्त आयोजनामा बुटवलको कालिकापथ क्षेत्रमा रहेका पसल तथा गोदाममा अनुगमन गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख लक्ष्मी शर्माको नेतृत्वमा गरिएको अनुगमनमा खाद्यान्न तथा किराना पसल, गोदाम र दैनिक उपभोग्य वस्तुको बिक्री वितरण अवस्थाबारे निरीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा कालिकापथका चार खाद्यान्न तथा किराना पसल र एक मदिरा पसलका गोदाममा रहेका सामग्रीको म्याद, गुणस्तर, भण्डारण प्रक्रिया तथा मूल्यसूची जाँच गरिएको थियो । सोही क्रममा बुटवल उपमहानगरपालिका–११ कालिकापथस्थित हाम्रो कोल्ड स्टोरमा म्याद गुज्रिएको बदाम जुस फेला परेको थियो ।

कार्यालय प्रमुख शर्माका अनुसार पसलमा बिक्रीका लागि राखिएका पाँच बोतल र गोदाममा लुकाएर राखिएका ४८ बोतल गरी ५३ बोतल म्याद गुज्रिएको बदाम जुस फेला परेको थियो । अनुगमन टोलीले उक्त सबै जुस नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताइन् ।

अनुगमन टोलीले चामल, दाल, तेल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि नगर्न व्यवसायीलाई सचेत गराएको छ । मूल्यसूची उपभोक्ताले सहजै देख्ने स्थानमा राख्न, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न तथा खाद्य सामग्रीको उचित भण्डारण गर्न पनि निर्देशन दिएको छ ।

टोलीले चाडपर्वका समयमा पटाका तथा अन्य विस्फोटकजन्य सामग्रीको बिक्री, वितरण र भण्डारणका साथै अवैध मादक पदार्थको कारोबारबारे समेत निगरानी गरेको थियो ।

अनुगमनमा बुटवल उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय बुटवल, गुणस्तर तथा नापतौल कार्यालय, बुटवल उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ रूपन्देही, इलाका प्रहरी कार्यालय बुटवल तथा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका प्रतिनिधिको सहभागिता थियो ।

चाडपर्वका समयमा बजारमा उपभोग्य वस्तुको माग बढ्ने र उपभोक्ता ठगिने सम्भावना रहने भएकाले बजार अनुगमनलाई निरन्तरता दिइने सम्बन्धित निकायले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?