© 2026
बुटवल । रूपन्देहीको भैरहवामा गरिएको बजार अनुगमनका क्रममा किराना पसलहरूमा म्याद, लेबल र खरिद बिलबिनाका खाद्यवस्तु फेला परेका छन् । अनुगमन टोलीले खरिद बिलबिनाका हल्का पेय पदार्थ तथा खुला रूपमा बिक्रीका लागि राखिएको चिनी लगायतका सामग्री नष्ट गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा मंगलबार सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथ र वडा नम्बर ६ गल्लामण्डीका आठ किराना पसलमा अनुगमन गरिएको हो । टोलीले मैत्रीपथस्थित नट्स एण्ड अर्गानिक होम, ओम साई केयर ट्रेडर्स, अन्सार जनरल स्टोर्स र रईस किराना पसल तथा गल्लामण्डीस्थित सिद्धेश्वर खाद्य स्टोर्स, जय महालक्ष्मी स्टोर्स, देविका किराना स्टोर्स र सुस्मिता किराना पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा एउटा पसलमा ड्राई फ्रुट्स खुला रूपमा बिक्री भइरहेको, खाद्यवस्तुमा लेबल तथा प्रयोग अवधि उल्लेख नगरिएको, केही पसलको व्यवसाय नवीकरण नभएको र म्याद सकिन लागेका सामग्री बिक्रीका लागि राखिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए । उनका अनुसार गल्लामण्डीका केही पसलमा खरिद बिलबिनाका सामानसमेत भेटिएका थिए । बिलबिनाका हल्का पेय पदार्थ र खुला रूपमा बिक्रीका लागि राखिएको चिनी लगायतका सामग्री फेला परेपछि नष्ट गरिएको उनले बताए ।
अनुगमनका क्रममा तिहारमा प्रयोग हुने झिलिङ्गा रोटीको प्याकेटमा उत्पादकको नाम तथा विवरण उल्लेख नभएको र प्रयोग अवधि १५ महिनासम्म राखिएको पनि पाइएको छ । यस विषयमा सम्बन्धित उत्पादकलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिएको न्यौपानेले जानकारी दिए ।
टोलीले व्यवसायीलाई खाद्यवस्तु खुला रूपमा बिक्री नगर्न, उत्पादन मिति र प्रयोग अवधि स्पष्ट उल्लेख गर्न, व्यवसाय दर्ता तथा नवीकरणका कागजात अद्यावधिक राख्न र म्याद सकिन लागेका सामग्री छुट्टै व्यवस्थापन गर्न निर्देशन दिएको छ । केही पसलमा मूल्यसूचीसमेत अद्यावधिक नभएको पाइएको उनले बताए ।
पहिलो चरणमा व्यवसायीलाई सचेत गराइएको र आगामी अनुगमनमा पनि यस्तै कैफियत दोहोरिए कडा कारबाही तथा जरिवाना गरिने लिखित चेतावनी दिइएको न्यौपानेको भनाइ छ । चाडपर्वलाई लक्षित गरी सुरु गरिएको बजार अनुगमनलाई नियमित रूपमा निरन्तरता दिइने उनले बताए । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेसहित जिल्ला प्रहरी कार्यालय रूपन्देहीका आशिष विश्वकर्मा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयकी लक्ष्मी शर्मा, घरेलु तथा साना उद्योग कार्यालयका त्रिपुरारी चाई, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका श्रवण ढुंगाना, सिद्धार्थनगर नगरपालिकाकी हिरा बराल र सिद्धार्थ उद्योग वाणिज्य संघका धर्मवीर शर्मालगायत सहभागी थिए ।