Butwal Today

चार बर्षअघि बन्यो तीन मुखे पुल तर भएन हस्तान्तरण

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

गुल्मी ।

गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रिडीमा नमूना तिन मुखे पुल बनाउनै १० बर्ष लाग्यो । पुल बल्लबल्ल निर्माण सम्पन्न भयो तर निर्माण सम्पन्न भएको चार बर्ष वितिसक्दा पनि अझै हस्तान्तरण हुन सकेको छैन् ।

निर्माण ब्यवसायीको आन्तरिक विवादका कारण लामो समयपछि निर्माण सम्पन्न भएको पुल चार वर्ष पुग्दासमेत हस्तान्तरण हुन नसकेको हो । २०७१ साल मंसिर १५ गते शिलान्यास गरिएको यो पुलको निर्माणको काम चार वर्ष पहिले सम्पन्न भएको हो । अहिले उक्त पुल सञ्चालनमा रहेको भएपनि आधिकारीक रुपमा सम्बन्धित कार्यालयलाई हस्तान्तरण भएको छैन् ।

गुल्मी, स्याङजा, र पाल्पाको सङगम स्थल रिडी क्षेत्रको कालीगण्डकीमा तीन जिल्लालाई जोडने गरी देशकै नमुना झोलुङगे पुल निर्माणको जिम्मा नयाँबाटो, रुबिना, मना जेभीले पाएको थियो । २०७१ साल असार १० गते तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी नौँ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँबाटो, रुबिना, मना जेभी र स्थानीय पुर्वाधार बिभाग सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकबिच सम्झौता भएको थियो ।

तीन पटकसम्म म्याद थप गरी कार्य सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ । निर्माण ब्यवसायी महेन्द्र अधिकारीले अनुसार सव कन्ट्याकले (पेटी ठेकेदारले) पैसा नपाएको भन्दै मुद्दा राखेका कारण हस्तान्तरण हुन नसकेको बताए । कार्यालयले भुक्तानी नगर्दा सव कन्ट्याक्टलाई आफूहरुले भुक्तानी गर्न नसेको उनको भनाइ छ ।

मुद्दा सुल्झाउनका लागि आफूहरुले प्रयास गरिरहेको र ४० प्रतिशत रकम धेरै ठूलो भएकाले आफूहरुका लागि अन्य केही विकल्पहरु नभएको अधिकारीले बताए ।
कार्यालयका योजना प्रमुख शङकर बुढाथोकीका अनुसार निर्माण ब्यवसायीहरुको आन्तरिक विवाद र कास्की जिल्ला अदालतमा मुद्दा बिचाराधिन अवस्थामा रहेका कारण हस्तान्तरण हुन नसकेको हो । उनीहरुको आन्तरिक विवाद समाधान नभएसम्मका लागि हस्तान्तरणको प्रक्रिया रोकिएको उनको भनाइ छ । उनीहरुकै विवादका कारण कार्यालयको तर्फबाट करिव ४० प्रतिशत रकम पनि भुक्तानी हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं १ रिडी, स्याङ्जाको कालीगण्डकी १ कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली जोडेको छ । कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७.४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दुरीमा रहेको छ । पुलको मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न बराबर दुरी रहेको छ ।

उक्त पुल अवलोकनका लागि देशका विभिन्न स्थानहरुबाट यहाँ आउने गरेको स्थानीयहरुले बताएका छन् । विशेषगरी नयाँ वर्ष, असारे ठूला एकादशी, हरिबोधनी एकादशी र मकर संक्रान्तिको समयमा पुल अवलोकन र भिडियो बनाउनेहरुको घुँइचो लाग्ने गर्दछ ।

तत्कालिन नेपाल सरकारका मुख्य सचिब लीलामणी पौडेल र गुल्मी क्षेत्र नम्वर दूईका सांसद चन्द्र भण्डारीले उक्त पुलको संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?