© २०२३
बुटवल, २ फागुन ।
देवदहमा जारी खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवाको काशी नोबेल एकेडेमीले लगातार दुई र देवदह क्रिकेट युनिटले पहिलो जित निकालेको छ । मंगलबार भएको लिग चरणको दोस्रो खेल काशीले स्टार क्रिकेट एकेडेमी माथि १ सय ९ रनको जित निकाल्दै समूहमा अग्रता लिएको हो ।
यसैगरी दोस्रो खेलमा देवदह क्रिकेट क्लबले कास्की क्रिकेट क्लबमाथि १३ रनको जित निकालेको हो । ग्रासरुट खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पुर्व क्रिकेटर शक्ति गौचनले आफनो बुबाको स्मृतिमा देवदह क्रिकेट मैदान शितलनगरमा आयोजना गरेको दोस्रो दिनको पहिलो खेलमा टस जितेर काशीले निर्धारित २५ ओभरमा १ सय ८२ रनको लक्ष्य खडा गरेको थियो । काशीका आशिष रोकाले ३१ बलमा ४३ रन तथा शेहजाद आलमले ३१ बलमा ३८ रनको योगदान दिए । स्टारका अमित अधिकारीले ५ ओभर बलिङ गर्दै ४१ रन खर्चेर ४ विकेट लिए । सुस्बिन पाण्डेले ५ ओभर बलिङ गर्र्दै ३१ रन खर्चेर २ विकेट लिए । बिशाल लक्ष्य पछ्याएको स्टार क्रिकेट एकेडेमीका ब्याट्सम्यानहरु १९.३ ओभरमा सबै विकेट गुमाएर ७३ रनमा समेटियो । स्टारका नन्दलाल चाइले २७ बलमा १३ रन तथा आस्मान थारुले २४ बलमा ११ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन । कम स्कोरमा रोक्न काशीका सुप्रित घिमिरेले ४ ओभरमा ७ रन खर्चेर ३ तथा अर्जुन करुषले ३ ओभरमा १० रन खर्चेर समान ३ बिकेट लिए । काशीका सुप्रित घिमिरे खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
यसैगरी दोस्रो खेलमा टस जितेर देवदह क्रिकेट युनिटले निर्धारित २५ ओभरमा ६ विकेट नोक्सानीमा १ सय ६५ रनको लक्ष्य खडा गरेको थियो । देवदहका क्षितिज थापा मगरले ६७ बलमा ६७ रन तथा सर्वतन सुनारले ४२ बलमा ३० रनको योगदान दिएका थिए ।
कास्कीका अमन सुवेदीले ५ ओभरमा २४ रन खर्चेर ३ तथा नितेश गिरीले ५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । बिशाल लक्ष्य पछ्याएको कास्कीका ब्याट्सम्यान निर्धारित २५ ओभरमा ९ बिकेट गुमाएर १ सय ५३ रनमा समेटियो । कास्कीका लागि सिब्रिन श्रेष्ठले ५९ बलमा ६४ र संकल्प अधिकारीले ४१ बलमा २३ रनको योगदान दिए । कम स्कोरमा रोक्न देवदहका अनुज सिह ठकुरीले ४ ओभरमा १८ रन खर्चेर ४ तथा प्रशन्न गैरेले ४ ओभरमा ३३ रन खर्चेर २ बिकेट लिए । खेलमा देवदहका अनुजसिह ठकुरी म्यान अफ दी म्यानबाट पुरस्कृत भए ।
प्रतियोगिताको बुधबार हुने खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की र काशी नोबेल एकेडेमी तथा स्टार क्रिकेट एकेडेमी र देवदह क्रिकेट युनिटका बीचमा हुने छ ।