Butwal Today

घरेलु हिंसाकै कारण मृत्यु रोज्न बाध्यछन्– कर्णालीका महिला

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

सुर्खेत ।
सुर्खेत गुर्भाकोट नगरपालिका वडा—८ स्थित भेरी नदीदेखि पौने घण्टा उकालो लागेपछि माया कठायतको घरमा पुगिन्छ । हरेक दिन भेरी नदीमा बहने सितल हावाको झोक्काले उनको गाउँका घरहरु सुम्सुम्याईरहन्छ । लाग्छ उनको सुन्दर जिन्दगीको पानाहरु पल्टाइरहेको थियो । बाहिर हेर्दा सुन्दर अनि सितल गाउँ, त्यही गाउँकी मायाको जिन्दगीले भने फरक मोड लियो । त्यही सुन्दर भेरी नदीका छालहरुमा छोराछोरीसहित ३४ वर्षिया माया बिलिन हुन बिवस भइन् ।

गएको चैत १ गते माया छोराछोरी सहित भेरी नदीमा हाम फालिन् । कलिलै उमेरमा विवाह बन्धनमा बाधिएकी उनीे श्रीमानको यातना सहन नसकेपछि छोराछोरी सहित नदीमा हाम फालिन् । माया ११ वर्षिया छोरी आशा र पाँच वर्षिय छोरा दीपकसँगै भेरी नदीमा हाम फालिन् । माया घर छोडेर फागुन २९ शुक्रबार राति नै माइती काका अम्मरदेव गिरीको घरमा छोराछोरीसहित पुगेकी थिइन् । त्यहाँ पुग्नेबित्तिकै श्रीमान भुपेन्द्र कठायतको फोन आएपछि खाना खाएर राती साढे नौ बजे फर्किन् ।

मायाका काका अम्मरदेव गिरीले भने– ‘खाना खाएर साढे नौ बजेतिर घरदेखि अगाडी बाटोसम्म पु¥याएर फर्किएँ । छोरीले नेपालगञ्जबाट उपचार गरेर फर्किएको बताएकी थिइन् । तर, फर्किएको भोलीपल्ट नै माया आफ्ना छोराछोरीसहित भेरी नदीमा बेपत्ता भएको खवर आयो । गिरीका अनुसार श्रीमानले भतिजी माया र नाती नातिनालाई यातना दिने गर्दथे ।

२०७७ फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै थियो । महिला हिंसा न्यूनिकरण गर्न महिलाहरु ‘प्लेकार्ड’ बोकेर दिवस मनाइरहेका थिए । महिलामाथि हुने हिंसाका घटनाका विषयमा केन्द्रदेखि पालिकाहरुमा बहसहरु चलिरहेकै थिए । ¥यालीपछि आयोजित कोणसभामा महिला अधिकारकर्मीहरु महिला अधिकारका विषयमा भाषण गरिरहेका थिए । उक्त भाषण सकिन नपाउँदै एउटा खवर बाहिरियो चार सन्तानसहित आमा कर्णालीमा हाम फालिन् ।

महिलाको अधिकारका विषयमा देशैभर बहस भइरहेको बेला दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीय उनै सुकी बडुवाल भने चार सन्तान सहित आत्महत्याको बाटो रोजिन् । दिनहुँ श्रीमानले मदिरा सेवन गरेर कुटपिटबाट विक्षिप्त भएपछि उनी सम्हालिन सकिनन् । त्यो पनि चार सन्तानसहित । घटना हुने दिन सुकीले मदिराले लठ्ठ भएका आफ्ना श्रीमानलाई गाउँकै स्थानीय बजारबाट घरमा ल्याएर सुताइन् । घरमा भएका गाई गोरुलाई घाँस काट्ने बहाना बनाएर डोको बोकी चार सन्तान सहित कर्णाली नदी किनारको बगरतिर लगिन् । घटनापछि स्थानीयले दुई बालिकाको हात बाँधिएको अवस्थामा माछा मार्ने जालमा शव भेटाएका थिए । त्यसैगरी आमा सुकी र उनका छोराको पनि डोकोमा लगाएको दाम्लोले बाँधिएको अवस्थामा शव भेटिएको थियो ।
अबेरसम्म सुकी घर नफर्किएपछि खोजतलास भएको थियो । सुकीसहित १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ८ वर्षीया ललित र ६ वर्षीया रजनीको शव कर्णाली नदीमा भटियो । विगत एक वर्षदेखि दैनिकजसो श्रीमानले मदिरा सेवन गरी कुटपिट गरेको बुझिएको छ ।

स्थानीयका अनुसार सुकीले मजदुरी गरी ६ जनाको परिवारको पालन पोषण गर्दै आएकी थिइन् । सोही वडाका पूर्व वडा अध्यक्ष प्रयाग शाहीले पतिको यातना सहन नसकी सुकीले सन्तानसहित आत्महत्याको बाटो रोजेको बताए । उनका अनुसार मानसिंहले छोराछोरीलाई पनि दैनिकजसो कुटपिट गर्दै आएका थिए । यो घटनालाई नजिकबाट नियालिरहेकी सोही नगरपालिकाकी पूर्व उपप्रमुख समेत रहेकी दीपा बोहोरा भन्छिन– ‘यस्तो घटना हुनु भनेको अहिलेको समयमा राम्रो होइन् ।’ गाउँमा यस्तो अवस्था आउने महिलाको संख्या धेरै रहेको उनले बताइन् । कोही आत्महत्याको बाटो रोजेका छन् भने कोहीले धेरैपटक आत्महत्याको प्रयास गर्ने गरेका पनि छन् ।

पाँच वर्षअघि वीरेन्द्रनगर १२ मा बसोबास गर्दै आएकी ३२ वर्षिया नन्दा रोकायले झुण्डिएर आत्महत्याको बाटो रोजिन् । केही समय अघिमात्र जुम्लाबाट बसाई सरी सुर्खेत झरेकी उनी श्रीमानको हिंसाबाट आजित भएर आत्महत्या गरिन् । पाँच छोराछोरीकी आमा समेत रहेकी उनले बेलुका छोराछोरीलाई खाना खुवाएर सुताएपछि मध्यरातमा आत्महत्या गरेको छिमेकी समेत रहेकी लक्ष्मी खड्काले बताइन् । छिमेकी बुढाथोकीले भनिन– ‘साँझपख मासुभात पकाएर छोराछोरीलाई सुत भनेकी रहिछन्’ ‘छोराछोरी सुतिसकेपछि मध्यरातमा पासो लगाएर अस्ताएकी हुन् ।

कर्णालीमा घरेलु हिंसाको कारण महिलाको ज्यान जाने भन्ने कुुरा कुनै नौलो भने होइन । पाँच वर्षदेखि सुर्खेतको सिम्ता गाउँपालिकामा रहेर मनोपरामर्शको काम गर्दै आएकी किमसरा खत्री भन्छिन्– ‘हिंसा मुख्य कारण हो, घरेलु हिंसाका कारण यस्तो कहालीलाग्दो घटना भएको छ, ।’
उनका अनुसार विशेषगरी वालविवाहपछि अधिकांस महिला हिंसाको सामना गर्नुपर्ने र उनीहरु आत्महत्यालाई नै समस्या समाधानको विकल्पको रुपमा लिने गरेका छन् । ‘विशेषगरी वाल विवाहले नै बढी महिलाहरु हिंसामा पर्ने गर्दछन् र मानसिक समस्या देखिन थाल्दछ ।

हिंसाका कारण कर्णालीका महिलाहरु आत्महत्या गर्न बाध्य भएका यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् । कर्णाली प्रदेशभर पछिल्लो ९ वर्षको अवधिमा एक हजार बढी महिलाले आत्महत्या गरेको प्रहरीको तथ्यांक रहेको छ । कर्णाली प्रदेश प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ देखि २०८२ ÷०८३ सम्म गरि नौ वर्षको अवधिमा दुई हजार तीन सय ९४ वटा आत्महत्याका घटना घटेका छन् । जसमा एक हजार १२ जना महिला रहेका छन् । त्यसमध्ये दुई सय पाँचजना बालिका रहेका छन् । प्रहरीको तथ्यांक अनुसार प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै आत्महत्या गर्नेको संख्या सुर्खेतमा रहेको छ ।
दैलेखको डुंगेश्वर गाउँपालिकाकी उपाध्यक्ष कलावती न्यौपाने कलिलै उमेरमा विवाह गर्ने अधिकांस महिलाहरु हिंसामा पर्ने गरेको र मानसिक स्वास्थ्य समस्या देखिन थालेको बताउँछिन् ।

‘हाम्रो यहाँ हरेक वडामा हेर्ने हो भने कम्तिमा पनि चार, पाँचजना महिलाहरुलाई मानसिक स्वास्थ्य समस्या भएको पाएको छु’ उनी भन्छिन्– ‘कतिपयले बच्चा लगेरै आत्महत्या गर्छन् । मेरो गाउँमा दुधेबच्चा छोडेर पनि आत्महत्या गर्ने गरेका छन् ।’
विगत १० वर्षयता सुर्खेतमा रहेर गीताञ्जली ल फर्ममार्फत विशेषगरी महिलाका मुद्दाहरु हेर्दै आएकी अधिवक्ता गीता कोइराला लैङ्गिक हिंसाका कारण पछिल्ला वर्षहरूमा आत्महत्याका घटना बढेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?