© 2026
बुटवल । रुपन्देही प्रहरीले अदालतबाट दोषी ठहर भएर पनि सजाय भुक्तान नगरी फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध, बैंकिङ कसुर, चेक अनादर र अभद्र व्यवहारका मुद्दामा कैद तथा जरिवाना तोकिएका उनीहरूलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा अभद्र व्यवहार मुद्दाका कोटहीमाई गाउँपालिका–३ का सुरेन्द्र यादव छन् ।उनलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, लागूऔषध मुद्दामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भभईका पर्शुराम लोध पक्राउ परेका छन् । उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।
चेक अनादर मुद्दामा मर्चवारी गाउँपालिका–१ का महमद असरफ खाँ एक हजार रुपैयाँ र कोटहीमाई गाउँपालिका–७ का उमाशंकर गुप्ता दुई हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका थिए ।
त्यसैगरी, बैंकिङ कसुर मुद्दामा कोटहीमाई गाउँपालिका–६ का सोहन पासी पक्राउ परेका छन् । उनलाई १५ दिन कैद र ५६ हजार ९८२ रुपैयाँ जरिवाना तोकिएको थियो ।
कात्तिक १६ गते उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ ।
