Butwal Today

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

नयाँदिल्ली ।

एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मङ्गलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

मौसम विभागका अनुसार चक्रवातले दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्दा प्रतिघण्टा १०० देखि ११० किलोमिटर र अधिकतम १२० किलोमिटरसम्मको गतिमा हावा चल्न सक्छ । आँधी नेल्लोर र नरसापुरबीच, ओङ्गोल सहरनजिकै तटमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

मुरासु अघिल्लो चक्रवातभन्दा कमजोर हुने अपेक्षा गरिए पनि यसले पहिले नै प्रभावित क्षेत्रमा थप भारी वर्षा गराउन सक्ने जनाइएको छ । गत बुधबार आएको ‘अर्नब’ चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षा गराउँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो ।

मौसम विभागले तीव्र हावाले कमजोर घरमा क्षति पु¥याउन, छाना उडाउन र रूख ढाल्न सक्ने चेतावनी दिएको छ । यसबाट खेतमा रहेका बाली, फलफूलका बगैँचा तथा अन्य कृषि उत्पादनमा समेत क्षति पुग्न सक्छ ।

बङ्गालको खाडी र उत्तरी हिन्द महासागर क्षेत्रमा चक्रवात नियमित जोखिमका रूपमा रहने गरेका छन् । उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई हरिकेन र प्रशान्त महासागरमा टाइफुन भनिन्छ । एएफपीका अनुसार पछिल्लो चक्रवातको प्रभावबाट भारतको पूर्वी तटीय क्षेत्रका बासिन्दा फेरि प्रभावित हुन सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?