© 2026
काठमान्डौँ ।
सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको उल्लेख गर्दै त्यसप्रति सदैव अडिग रहेको स्पष्ट पारेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता डा। अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो । यसमा हामी अडिग र स्पष्ट छौँ । संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौँ ।’
बैठकले सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा कुनै पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानुनबमोजिम छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, छानबिनबाट प्राप्त सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि अनुरोध गरेको छ ।
विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानुनअनुसार निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न र आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने गरी संवेदनशीलता अपनाउन बैठकले आग्रह गरेको छ ।
छानबिनको निष्कर्ष सार्वजनिक नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने किसिमका समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि बैठकले सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।
त्यस्तै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।