© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी बनेको आरोप लगाएका छन् । कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताएका हुन् ।
कानुनी व्यवस्थालाई कमजोर बनाउँदै सरकारले सत्ताको दुरुपयोग गरेको उनको भनाइ थियो । सिंहदरबारमा जारी संसदीय दलको बैठकमा सहभागी स्रोतका अनुसार पौडेलले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, ‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरियो । कानुनी व्यवस्थालाई कमजोर बनायो र सत्ताको दुरुपयोग गर्यो ।’
बैठकमा महामन्त्री पौडेलले अन्य प्रतिपक्षी दलसँग समेत सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्न सरकारसँग माग गर्न पनि पार्टीलाई आग्रह गरेका छन् ।
अदालतमा भएको भनिएको सेटिङ प्रकरणमा बिचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरीसमेत जोडिएको विषयको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उनको माग थियो ।
सरकारबाटै निष्पक्ष छानबिन हुनेमा विश्वास गर्न नसकिने उल्लेख गर्दै उनले प्रतिपक्षी दल, संसद्, जनता र प्रेसमाथि सरकारले हेपाहा प्रवृत्ति देखाएको तथा ज्यादती बढाएको बताएका थिए । राज्यका संवैधानिक अंगहरूलाई समेत कमजोर बनाउने काम भएको उनको आरोप थियो ।
कांग्रेस संसदीय दलको बैठक अहिले पनि जारी छ । आफ्नो धारणा राखेपछि महामन्त्री पौडेल बैठकबाट बाहिरिएका छन् ।
प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमा सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भइरहेको छ ।