© २०२३
भैरहवा, २ फागुन ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’ को मंगलबारकोे खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल–११ ले बुटवल युथलाई ७ ेटले पराजित गर्दै जित निकालेको हो ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४७ ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ६६ रनको झिनो योगफल बनायो । उसका लागि कृष्ण सेनले १५, सुमन थापाले १२ तथा पदम मुखियाले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बुटवल–११ का सुदन श्रेष्ठले ९ ओभर बलिङ गर्दै २९ रन खर्चेर ७ विकेट लिए । यस्तै, अशोक पौडेलले २ तथा एजाज अहम्मदले १ विकेट लिए ।
प्रतिउत्तरमा ६७ रनको सामान्य लक्ष्य पछ्याएको बुटवल–११ ले ७.२ ओभरमा ३ विकेट गुमाउँदै ६९ रन बनाई जित निकाल्यो । उसको जितमा विवेक शर्माले १९, विभेष खातीले नटआउट १३ र अशोक पौडेलले अविजित ११ रनको योगदान दिए । बलिङमा बुटवल युथका पदम मुखियाले २ तथा सन्तोष परियारले १ विकेट लिए । बुटवल–११ का सुदन मुखिया म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।