© 2026
बुटवल । रूपन्देहीको तिलोत्तमास्थित निदान अल्ट्रासाउण्ड डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिले अत्याधुनिक अल्ट्रासाउण्ड तथा कलेजो परीक्षण सेवा विस्तार गरेको छ । बुटवलमा १६ वर्षदेखि अल्ट्रासाउण्ड सेवा प्रदान गर्दै आएको संस्थाले फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका उपकरण सञ्चालनमा ल्याएको हो । तिलोत्तमा नगरपालिका–३, ड्राइभरटोलस्थित केन्द्रबाट नयाँ प्रविधिसहितको सेवा सुरु गरिएको संस्थाले जनाएको छ । गर्भावस्थामा रहेका शिशुको अवस्था, महिलासम्बन्धी स्वास्थ्य समस्या तथा कलेजोको अवस्था परीक्षणलाई लक्षित गरी नयाँ उपकरण भित्र्याइएको हो ।
संस्थाका वरिष्ठ रेडियोलोजिस्ट डा. राजेन्द्र खनालका अनुसार फोर–डी र फाइभ–डी प्रविधिबाट गर्भावस्थामा रहेका शिशु तथा आमाको स्वास्थ्य अवस्था र परीक्षण गर्नुपर्ने अंगको बनावटलाई थप स्पष्ट रूपमा दृश्यांकन गर्न सकिन्छ । यसबाट चिकित्सकलाई परीक्षणको नतिजा विश्लेषण गर्न र आवश्यक उपचार प्रक्रिया अघि बढाउन सहयोग पुग्ने उनले बताए ।
“कतिपय अवस्थामा रोगको सही पहिचान हुन नसक्दा बिरामीले समयमै उचित उपचार पाउन सक्दैनन् र थप जटिलता सामना गर्नुपर्ने हुन्छ,” डा. खनालले भने, “नयाँ प्रविधिबाट परीक्षण गरिने अंगको अवस्था स्पष्ट रूपमा देख्न सकिने भएकाले रोग पहिचान र उपचार प्रक्रियामा सहजता हुन्छ ।” संस्थाका अनुसार गर्भावस्था तथा महिलासम्बन्धी स्वास्थ्य परीक्षणका लागि प्रयोग हुने नयाँ अल्ट्रासाउण्ड उपकरणमा एक करोड २५ लाख रुपियाँ र कलेजोको अवस्था परीक्षण गर्ने इलास्टोग्राफी उपकरणमा करिब एक करोड रुपियाँ लगानी गरिएको छ । दुवै उपकरण दक्षिण कोरियाबाट आयात गरिएको संस्थाले जनाएको छ ।
इलास्टोग्राफी प्रविधिबाट कलेजोको अवस्था परीक्षण गर्दा दुई हजार पाँच सय रुपियाँ र पेटभित्रका अन्य अंगको अल्ट्रासाउण्ड परीक्षण गर्दा चार हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ । डा. खनालका अनुसार इलास्टोग्राफी प्रविधिले कलेजोको कडापन मापन गरी त्यसमा हुन सक्ने क्षतिको मूल्याङ्कन गर्न सहयोग गर्छ । विशेषगरी मधुमेह, मोटोपन, फ्याटी लिभर, कोलेस्ट्रोल तथा हेपाटाइटिस बी र सीको समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार कलेजोको परीक्षण गराउनुपर्ने उनको सुझाव छ । नियमित मादक पदार्थ सेवन गर्ने तथा रासायनिक पदार्थ र रङरोगनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिले पनि कलेजोको स्वास्थ्यमा ध्यान दिनुपर्ने उनले बताए । “कलेजोमा गम्भीर क्षति पुगिसक्दा पनि कतिपय व्यक्तिलाई त्यसबारे जानकारी नहुन सक्छ,” उनले भने, “समयमै परीक्षण गरी समस्या पहिचान गर्न सके आवश्यक उपचारमार्फत कलेजोको थप क्षति रोक्न सहयोग पुग्छ ।”
रेडियोलोजी क्षेत्रमा सन् २००७ देखि कार्यरत डा. खनालले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा नयाँ प्रविधिको प्रयोगसँगै दुर्गम क्षेत्रका नागरिकको पहुँच विस्तारलाई पनि प्राथमिकता दिँदै आएको बताए । निदान अल्ट्रासाउण्डको तर्फबाट उनले विभिन्न दुर्गम तथा विकट क्षेत्रमा निःशुल्क अल्ट्रासाउण्ड स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरमा आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई निःशुल्क परीक्षण सेवा उपलब्ध गराउनुका साथै स्थानीय स्वास्थ्यकर्मी र प्राविधिकलाई परीक्षणसम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गर्ने गरिएको उनले बताए ।
“सहरमा सेवा प्रदान गरेर आर्जन गरेको आम्दानीको केही हिस्सा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा खर्च गर्ने गरेको छु,” डा. खनालले भने, “शिविरमा बिरामीको निःशुल्क परीक्षणसँगै स्थानीय चिकित्सक तथा प्राविधिकलाई आफूले प्रयोग गर्दै आएका नयाँ प्रविधि र सीपबारे जानकारी दिने गरेको छु ।”
लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका डा. खनालले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । सरकारी स्तरमा बनेका स्वास्थ्यसम्बन्धी नीति तथा नियम कार्यान्वयनमा कमजोरी हुँदा सेवा प्रवाह प्रभावित हुने उनको भनाइ छ ।
स्वास्थ्य संस्थामा आर्थिक प्रलोभन र कमिसनको प्रभावले बिरामीको उपचार प्रभावित हुन सक्ने विषयमा पनि उनले चिन्ता व्यक्त गरे । अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको आवश्यकता र स्वास्थ्य अवस्थालाई प्राथमिकता दिएर परीक्षण तथा उपचार सेवा प्रदान गरिनुपर्ने उनको धारणा छ । नयाँ प्रविधिमा गरिएको लगानीले रूपन्देही तथा आसपासका क्षेत्रका नागरिकलाई थप विशिष्टीकृत परीक्षण सेवा उपलब्ध गराउने अपेक्षा संस्थाले गरेको छ ।