© 2026
चन्द्रौटा ।
कपिलवस्तुमा ईभी पल्टिँदा साइकल यात्रुसहित ३ जना घाइते भएका छन् । बुद्धभूमि नगरपालिका-९ बकलिपुरमा शुक्रबार राति करिब ९ बजे बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ज १६७१ नम्बरको ईभी अनियन्त्रित भई पल्टिँदा दुई यात्रु र एक साइकल चालक घाइते भएका प्रहरी जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जनाए । घाइते तीनै जनाको गोरुसिङ्गेस्थित बुद्ध पोलिक्लिनिकमा उपचार भइरहेको छ । ईभी चालक बाँकेको राप्तीसोनारी-१ का २७ वर्षीय सुनिल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ईभीमा सवार दाङको लमही नगरपालिका-१ निवासी ३८ वर्षीय प्रदीप चौधरी र कपिलवस्तुको शिवराज नगरपालिका-२ बालापुर निवासी ५७ वर्षीय चित्रकला बलामी घाइते भएका थिए । चौधरीको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको छ ।
बलामीको टाउको र ढाडमा चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि गोरुसिङ्गे स्थित बुद्ध पोलिक्लिनिकमा लगिएको छ । ईभीको ठक्करबाट साइकल चालक बुद्धभूमि नगरपालिका-९ चौबनपुर बस्दै आएका भारतीय नागरिक निरञ्जन प्रसाद समेत सामान्य घाइते भएका थिए ।