Butwal Today

बर्दघाटमा न्यायिक समितिबाट भएका सहमतिका प्रभावकारिताको लेखाजोखा 

१६ वटै वडाका मेलमिलाप केन्द्रको अनुगमन प्रतिवेदन सार्वजनिक
१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

नवलपरासी ।

स्थानीय तहमा न्यायिक समितिमार्फत विवाद समाधानका लागि गरिएका सहमति कार्यान्वयनको अवस्था र मेलमिलाप प्रक्रियाको प्रभावकारिता मूल्याङ्कन गर्न बर्दघाट नगरपालिकाले अनुगमन तथा समीक्षा कार्यक्रम मार्फत यसको लेखाजोखा गरेको छ ।

शुक्रवार नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरका १६ वटै वडामा न्यायिक समितिमार्फत भएका विवाद समाधानका प्रयास, सहमति कार्यान्वयनको अवस्था तथा मेलमिलाप केन्द्रहरूको वस्तुस्थितिबारे समीक्षा गरिएको हो ।

न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको उपस्थितिमा सम्पन्न कार्यक्रममा अनुगमनका लागि खटिएका टोलीहरूले आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत  गरेका थिए ।

नगरका चार वटा क्लस्टर विभाजन गरी मेलमिलाप प्रक्रियाको प्रभावकारिता अध्ययन गरिएको थियो ।

कार्यक्रममा मेलमिलापकर्ताहरूले विवाद समाधानका क्रममा भोग्नुपरेका समस्या, चुनौती तथा कार्यानुभव साझा गर्दै मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरवासीका समस्या समाधानमा न्यायिक समिति र मेलमिलापकर्ताहरूले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

काम गर्ने क्रममा नगरपालिकाले चाहेर पनि अपेक्षाअनुसार सहयोग गर्न नसकेको स्वीकार गर्दै उनले अन्य पालिकाको तुलनामा बर्दघाट नगरपालिकाले न्यायिक समिति तथा मेलमिलापका लागि राम्रो बजेट विनियोजन गर्दै आएको उल्लेख गरे ।

आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै श्रेष्ठले नगरमा नयाँ नेतृत्व आउने क्रममा रहे पनि नागरिकका कामप्रति आफू सधैँ प्रतिबद्ध रहेको बताए ।

त्यसै गरी न्यायिक समितिका संयोजक उपाध्यायले नगरवासीले पाउने न्यायको प्रभावकारिता समीक्षा गर्न आवश्यक रहेको बताए । आफूले आफ्नो क्षमताले भ्याएसम्म न्याय सम्पादन गर्ने प्रयास गरेको उल्लेख गर्दै उनले न्यायिक शाखामा दर्ता भएका उजुरीको विवरणसमेत प्रस्तुत गरे ।

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २८६, २०८१/०८२ मा ११०, २०८२/०८३ मा ६१ र चालु आर्थिक वर्ष २०८३/०८४ को कात्तिक १२ गतेसम्म १५ वटा उजुरी दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?