© 2026
सल्यान ।
प्रसिद्ध धार्मिकस्थल खैराबाङ भुवनेश्वरी भगवती मन्दिरमा यस वर्षको बडादसैँमा २० हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनको बाक्लो उपस्थिति रहेको मन्दिरमा करिब एक हजार २ सय पशुबलि चढाइएको छ । धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित मन्दिरमा दसैँ अवधिमा बोका, कुखुरा, भेडा र राँगासहित पशुबलि चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यो अवधिमा प्रारम्भिक अनुमान अनुसार करिब २७ लाख रुपियाँ आम्दानी भएको जनाइएको छ । यद्यपि यो अन्तिम हिसाब नभएको जनाउँदै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ओम थापाले समिति र सरोकारवालाबीच बैठक बसेर सबै शीर्षकको आम्दानी तथा खर्चको हिसाब मिलान गरेपछि मात्रै वास्तविक आम्दानी सार्वजनिक गरिने बताए ।
मन्दिरका विभिन्न सेवा तथा ठेक्का मार्फत सञ्चालन गरिएको थियो । बलिका टाउका बिक्रीको ठेक्का १८ लाख ३० हजार रुपियाँ, सरसफाइको ठेक्का दुई लाख ७१ हजार रुपियाँ र फोटोग्राफीको ठेक्का ५५ हजार ५५५ रुपियाँमा लागेको थियो । गत वर्षको मन्दिरको कुल आम्दानी करिब ७२ लाख रुपियाँ भएको पनि अध्यक्ष थापाले जनाए ।खैराबाङ मन्दिरमा दसैँका बेला हुने भक्तजनको चहलपहल र आर्थिक गतिविधिसँगै यसको ऐतिहासिक स्वरूप संरक्षणको विषय पनि महत्वपूर्ण बनेको छ । पुरानो परम्परागत प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण गर्ने काम बजेट अभावका कारण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।
आ.व. २०७९ / ८० मा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणका लागि ८५ लाख रुपियाँको टेन्डर आह्वान गरेको र ७३ लाख रुपियाँमा ठेक्का सम्झौता भई काम अघि बढाइएकोमा आधा काम सम्पन्न भएको थियो । तर आ.व. २०८० / ८१ मा बजेट विनियोजन नहुँदा निर्माणले निरन्तरता पाउन सकेन । २०८१ / ८२ मा २५ लाख बजेट विनियोजन भई १८ लाखमा ठेक्का सम्झौता भएपछि निर्माणको काम पुनः अघि बढाइएको थियो । हाल मन्दिरको छाना छाउने काम आधा सम्पन्न भएको अध्यक्ष थापाले बताए ।
चालु आ.व.मा पनि १८ लाख रुपियाँ बजेट विनियोजन भएको जानकारी आएको भन्दै समितिले यसबारे बुझ्ने र अबको एक वर्षभित्र निर्माण कार्यलाई पूर्णता दिने जनाएको छ । शारदा नगरपालिका, ११ मा अवस्थित खैराबाङ मन्दिर नेपालका महत्वपूर्ण शक्तिपीठमध्ये एक मानिन्छ । स्वस्थानी व्रतकथामा आधारित पौराणिक जनविश्वास अनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर भ्रमण गर्ने क्रममा यस स्थानमा सतीदेवीको अङ्ग पतन भएको मान्यता छ । मन्दिरमा वि.सं. १४८० देखि नियमित पूजाआजा हुँदै आएको ऐतिहासिक प्रमाण तथा अभिलेख रहेको जनाइएको छ ।
यहाँ वर्षभरि पूजाआजा हुने भए पनि असोज र चैते दसैँमा विशेष चहलपहल हुन्छ । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ सल्यानसहित रुकुम, दाङ, सुदूरपश्चिमका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजन दर्शनका लागि आउने गर्छन् ।