Butwal Today

सात तालको लय, तीन भैरवको शक्ति, हजारौँ दर्शक

१३ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

अर्घाखाँची ।
नेवार समुदायको धार्मिक आस्था र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ । अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका–१ को पटुवाथुम, वडा नं. १२ को डिभर्ना तथा भूमिकास्थान नगरपालिका–८ को नुवाकोट र लात्तेबाँजमा बसोबास गर्ने नेवार समुदायले विभिन्न वर्षमा भैरव नाच निकाल्ने गर्छन् । यस वर्ष नुवाकोट भैरव समाजले भैरव नाच प्रदर्शन गरेको छ । त्यस्तै, नेवा समाज अर्घाखाँची–रूपन्देहीले पनि बुटवललगायत विभिन्न स्थानमा नाच प्रदर्शन गरेको छ ।

नेवा समाज अर्घाखाँची–रूपन्देहीले सन्धिखर्कको टुँडिखेलमा प्रस्तुत गरेको भैरव नाच हेर्न हजारौँ दर्शक उपस्थित भएका थिए । नेवार समुदायको परम्परागत नाच भए पनि यसको आकर्षण समुदायको सीमाभन्दा बाहिरसम्म फैलिएको छ । धार्मिक आस्था, विशिष्ट बाजाको धुन, आकर्षक शृङ्गार र नर्तकको ऊर्जाशील प्रस्तुतिले भैरव नाचलाई दर्शकका लागि विशेष बनाएको छ ।

भैरव नाचको आफ्नै धार्मिक विधि, समय र परम्परा छ । अर्घाखाँचीमा यो नाच श्रीकृष्ण जन्माष्टमीदेखि सुरु भएर कार्तिक औँसीसम्म नाच्ने प्रचलन छ । यस अवधिमा विभिन्न स्थानमा भैरव नाच प्रदर्शन गरिन्छ । अर्घाखाँची भैरव नाच संरक्षण समितिका संयोजक राजकुमार श्रेष्ठका अनुसार देउसी–भैलोको मादल बज्नुअघि नै भैरव नाच विसर्जन गरिसक्नुपर्ने स्थानीय मान्यता छ । नाच सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । पूजादेखि नाचको समापन सम्म धार्मिक आस्था र परम्परागत विधिलाई विशेष महत्त्व दिइन्छ । त्यसैले भैरव नाचलाई मनोरञ्जनका लागि प्रस्तुत गरिने सामान्य नृत्यका रूपमा मात्रै बुझ्न सकिँदैन। यसमा समुदायको धार्मिक विश्वास र सांस्कृतिक जिम्मेवारीसमेत जोडिएका छन् ।

भैरव नाचको विशिष्ट पक्ष यसको ताल र लय हो । यो नाच सामान्यतया सात तालसम्म नाचिने गरिन्छ। प्रत्येक तालको लय र प्रस्तुति शैली फरक हुन्छ । एउटा ताल सामान्यतया करिब १० मिनेटको हुने र बीचमा छोटो विश्रामपछि अर्को ताल सुरु गरिने परम्परा रहेको अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले बताएका छन् ।

सातवटै तालको फरक विशेषताले नाचलाई थप रोचक बनाउँछ । बाजाको धुन, नर्तकको चाल र प्रस्तुतिको गतिमा देखिने परिवर्तनले दर्शकलाई प्रत्येक तालमा फरक अनुभूति गराउँछ । यस नाचमा काल भैरव मुख्य पात्रका रूपमा रहन्छन् भने श्वेत भैरव र रक्त भैरव सहायक पात्रका रूपमा प्रस्तुत हुन्छन्। उनीहरूसँगै डंकिनी अर्थात् नर्तकीको पनि भूमिका रहने गर्छ ।

भैरवका रूपमा सजिने नर्तकलाई ख्वापः अर्थात् खप्पर, विशेष कपडा, चमर, माला र अन्य शृङ्गार सामग्रीले सजाइन्छ । तीनवटै भैरवलाई उनीहरूको भूमिकाअनुसार फरक रङ र शृङ्गारमा प्रस्तुत गरिन्छ । यसले नाचलाई विशिष्ट र आकर्षक स्वरूप प्रदान गर्छ । भैरवको स्वरूपमा सजिएका नर्तकलाई भगवान्को प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । स्थानीय जनविश्वासअनुसार पाँचौँ र छैटौँ तालमा तान्त्रिक विद्यामा निपुण व्यक्तिमा भैरव उत्रिने विश्वास गरिन्छ । यस्तो अवस्थामा नर्तक वा दर्शकसमेत काम्ने गरेको स्थानीय मान्यता छ । धार्मिक विधिमा त्रुटि भए क्षति हुन सक्ने विश्वासका कारण नाच सञ्चालनमा विशेष सावधानी अपनाइन्छ ।

भैरव नाचको आकर्षण बढाउने अर्को पक्ष परम्परागत बाजागाजा हुन् । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार यस नाचमा खीं बाजा अर्थात् मिर्दुङलाई मुख्य बाजाका रूपमा प्रयोग गरिन्छ । त्यससँगै झुर्मा अर्थात् झ्याली, सहनाई, धंकुरीलगायतका वाद्ययन्त्र बजाइन्छन् । बाजाको धुन र नर्तकको चालबीचको तालमेलले नाचलाई जीवन्त बनाउँछ । बाजा बज्न थालेपछि नाचको वातावरण नै बदलिन्छ । दर्शकहरू पनि त्यसको लयमा रमाउन थाल्छन् ।

मुख्य बाजा बजाउने व्यक्तिहरू नेवार समुदायका भए पनि सहायक वाद्यवादकका रूपमा अन्य समुदायका व्यक्तिहरू पनि सहभागी हुने गरेका छन् । यसले भैरव नाचको संरक्षणमा सामुदायिक सहकार्य र सामाजिक सद्भावको महत्त्वलाई उजागर गर्छ ।

नाचलाई थप रोचक बनाउन लाठी नाच अर्थात् टाकुनडोली, घोडा नाच, चरा नाच र लाहुरे–लाहुरेनी नाचलगायतका मनोरञ्जनात्मक प्रस्तुति पनि समावेश गरिन्छन् । यस्ता प्रस्तुतिले स्थानीय कलाकारलाई आफ्नो कला देखाउने अवसर दिनुका साथै दर्शकलाई मनोरञ्जन प्रदान गर्छन् । सन्धिखर्क नगरपालिका–१ का वडाध्यक्ष माधव श्रेष्ठका अनुसार भैरव नाच नेवार समुदायका विभिन्न प्रचलित तथा ऐतिहासिक नाचमध्ये एक हो । यो नेवार समुदायमा मात्र सीमित नरही अन्य समुदायका बिचमा पनि लोकप्रिय रहेको बताएका छन् ।

भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ र दैलेखलगायतका जिल्लामा प्रचलित छ । ठाउँअनुसार यसको शैली र प्रस्तुति फरक हुन सक्छ । कतिपय स्थानमा कालिका नाच तथा लाखे नाचजस्ता अन्य परम्परागत नाच पनि प्रचलनमा छन् । अर्घाखाँचीको भैरव नाच गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु र रूपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ। यस वर्ष बुटवलमा नेवा समाज अर्घाखाँची–रूपन्देहीले नाच प्रदर्शन गर्नुले जन्मथलोबाट टाढा रहेका समुदायले समेत आफ्नो मौलिक संस्कृति संरक्षण गरिरहेको देखाउँछ । मंगलबार राति सन्धिखर्कको टुँडिखेलमा हजारौँ दर्शकको उपस्थितिले पनि भैरव नाचप्रतिको आकर्षण स्पष्ट पार्छ । यसको विशिष्ट बाजाको ताल, आकर्षक भेषभूषा र ऊर्जाशील प्रस्तुतिले अन्य समुदायका मानिसलाई समेत मोहित पार्ने गरेको छ ।

समयसँगै मनोरञ्जनका माध्यम र मानिसका रुचिमा परिवर्तन आइरहेका छन् । आधुनिक प्रविधि र नयाँ पुस्ताका मनोरञ्जनका विकल्प बढ्दै जाँदा परम्परागत कला तथा संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्न सक्छ। यस्तो अवस्थामा भैरव नाचको निरन्तरताका लागि नयाँ पुस्तालाई यसको इतिहास, धार्मिक विधि, बाजा बजाउने सीप र विभिन्न तालबारे जानकारी गराउन आवश्यक छ । समुदायका अग्रज तथा अनुभवी कलाकारसँग रहेको ज्ञानलाई अभिलेखीकरण गर्ने, सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने र युवालाई अभ्यासमा सहभागी गराउने कामले यसको मौलिकता जोगाउन सहयोग पु¥याउन सक्छ ।

त्यस्तै, भैरव नाचको व्यवस्थित प्रचारप्रसार गर्न सके अर्घाखाँचीको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्न सक्छ । तर यसको विकास गर्दा धार्मिक आस्था र मौलिक परम्परालाई प्राथमिकता दिनु आवश्यक छ । नेवार समुदायले पुस्तौँदेखि जोगाउँदै आएको भैरव नाच अर्घाखाँचीको सांस्कृतिक गौरव हो।

काल भैरव, श्वेत भैरव र रक्त भैरवका विशिष्ट स्वरूप, सात तालको लय र परम्परागत बाजाको गुञ्जनले यसलाई बेग्लै पहिचान दिएका छन् । भैरव नाचको संरक्षण गर्नु एउटा नृत्यलाई निरन्तरता दिनु मात्र होइन,पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको आस्था, कला, इतिहास र सामाजिक सद्भावलाई जोगाउनु पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?