© 2026
गुल्मी । गुल्मीको मसिकोट नगरपालिका–६ कुर्घा स्थित ऐतिहासिक मालिका मन्दिरमा देवीसँग वर माग्दा ठूलो स्वरले कराएर माग्नुपर्ने अनौठो र रोमाञ्चक परम्परा छ । प्राचीन धार्मिक मान्यता, प्राकृतिक सौन्दर्यको अद्वितीय विशेषता बोकेको यो शक्तिपीठ धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिए पनि प्रचार–प्रसारको अभावमा अझै ओझेलमा परेको छ ।
स्थानीय धार्मिक विश्वास अनुसार मालिका देवीले कान अलि कम सुन्ने भएकाले यहाँ पूजा–आराधना गरेपछि आफ्नो मनोकाँक्षा पुरा गर्न वर माग्दा ठूलो स्वरले कराउनै पर्ने परम्परा रहँदै आएको छ । यस मन्दिरमा भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र त्यसपछि पुनः मन्दिरमै आएर बली चढाउने परम्परा रहेको छ ।
पौराणिक मान्यता अनुसार करिब पाँच हजार वर्ष अघि यस क्षेत्रको उत्पत्ति भएको विश्वास गरिन्छ । यस क्षेत्रमा किम्बू, बर र सिमलका रूखमुनि माल्याश्री ऋषिले तपस्या गरेको किंवदन्ती छ । पानीको अभाव हुँदा देवी मालिका भगवती प्रकट भई जलकुण्ड सृजना गरेर जीवजन्तुको रक्षा गरेको जनविश्वास रहिआएको छ । यसका अतिरिक्त श्री स्वस्थानी व्रत कथामा पनि यसलाई शक्तिपीठका रूपमा उल्लेख गरिएकाले माघ महिनाभर यहाँ बली चढाइँदैन ।
मन्दिर परिसर र वरपरबाट देखिने मनमोहक प्राकृतिक दृश्य यहाँका मुख्य आकर्षण हुन् । मन्दिरसँगै जोडिएको चट्टानबाट बाह्रै महिना निरन्तर पानी बगिरहने यहाँको अर्को विशेषता हो । सोही पानीबाट बनेको सानो कुण्ड र त्यसमा तैरिने रङ्गीचङ्गी माछाहरूको दृश्यले पर्यटकलाई थप आकर्षित गर्दछ । विशेष गरी बैकुण्ठ चतुर्दशी र कात्तिक शुक्ल चतुर्दशीका दिन यहाँ हजारौँ श्रद्धालुको ठूलो मेला लाग्ने गर्दछ ।
यस मन्दिरमा गुल्मी सहित छिमेकी जिल्लाहरू अर्घाखाँची, बाग्लुङ, प्युठान, रूपन्देही पोखरा तथा काठमाडौँ लगायतका क्षेत्रबाट श्रद्धालुहरू दर्शनका लागि आउने गर्दछन् । पर्यटकीय दृष्टिले समेत मालिका क्षेत्र निकै सम्भावना बोकेको पबित्र भार्मिक स्थल हो । मन्दिर नजिकै सञ्चालनमा रहेको स्वाँरा सामुदायिक होमस्टेमा पुगेर आगन्तुकहरूले स्थानीय रैथाने परिकारको स्वाद लिन सक्ने व्यवस्था छ ।
मालिका क्षेत्रको पूर्वाधार विकासका लागि मुसिकोट नगरपालिका तथा प्रदेश सरकारबाट सडक, खानेपानी तथा मन्दिर पुनर्निर्माण लगायतका क्षेत्रमा सहयोग भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेलले बताए । पछिल्लो समय मालिका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।
यति धेरै पौराणिक र पर्यटकीय महत्व हुँदाहुँदै पनि पर्याप्त प्रचार–प्रसार हुन नसक्दा यो क्षेत्र वत्तीमुनिको अँध्यारो’ जस्तै बनेको स्थानीय ज्ञानहरी सापकोटा बताउछन् ।