© 2026
बाणगङ्गा ।
कुनै समय धान पाकेपछि किसानलाई बाली भित्र्याउने चटारो हुन्थ्यो । खेतमा धान पाकेर पहेँलपुर भए पनि समयमै खेताला नपाइने, धेरै जनशक्ति परिचालन गर्नुपर्ने र काटेको धान भित्र्याउन दिनौँ लाग्ने समस्या किसानले भोग्दै आएका थिए । तर पछिल्लो समय कृषि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिले किसानको यही समस्यालाई केही हद सम्म सहज बनाउँदै लगेको छ । धान काट्ने हाते रिफर मेसिनको प्रयोग बढेसँगै समय, श्रम र लागत बचत हुन थालेको छ ।
बाणगंगा नगरपालिका–१ की किसान प्रतिमा सेनलाई अहिले धान काट्न पहिले जस्तो हतार र झन्झट छैन । उनले हाते रिफर मेसिन प्रयोग गर्न थालेको तीन वर्ष भयो । विगतमा हँसियाले धान काट्दा लाग्ने समय, खेताला व्यवस्थापन र पारिश्रमिकको तुलनामा मेसिनबाट धान काट्दा धेरै सहज भएको उनको अनुभव छ । सेनका अनुसार १५ कट्ठा खेतको धान काट्न पहिले ६ जना खेताला लगाउँदा दुई दिनसम्म लाग्थ्यो। एक जना खेतालालाई दैनिक ८ सय रूपैयाँका दरले पारिश्रमिक दिनुपथ्यो । यस हिसाबले पारिश्रमिकमै दैनिक ४ हजार ८ सय रूपैयाँ खर्च हुन्थ्यो । दुई दिन काम लगाउँदा पारिश्रमिक मात्रै ९ हजार ६ सय रूपैयाँ पुग्थ्यो । त्यसबाहेक खेतालालाई खाना खुवाउने र अन्य व्यवस्थापनको खर्च पनि बेहोर्नुपथ्र्यो ।
तर अहिले सोही खेतको धान हाते रिफर मेसिनबाट करिब दुई घण्टामै काटेर सकिने सेन बताउँछिन् । यसले काममा लाग्ने समय उल्लेख्य रूपमा घटाएको छ भने खेताला खोज्ने र व्यवस्थापन गर्ने झन्झटसमेत कम भएको छ । “पहिले खेताला लगाएर धान काट्दा दुई दिनसम्म लाग्थ्यो । अहिले मेसिनले दुई घण्टामै धान काटेर सकिन्छ। समय र खर्च दुवै बचत भएको छ,” सेनले भनिन् ।
उनका अनुसार हाते रिफर मेसिनले धान काटेर खेतमै मिलाएर राख्ने भएकाले पछि मुठा पार्नसमेत सहज हुन्छ । मेसिनबाट धान काट्दा धानका बाला झर्ने वा टुक्रिने समस्या पनि आफूले अनुभव नगरेको उनी बताउँछिन् । कृषि कार्यलाई सहज बनाउन र समयमै बाली भित्र्याउन मेसिनको प्रयोग उपयोगी हुने उनको भनाइ छ। त्यसैले उनले अन्य किसानलाई पनि हाते रिफर मेसिन प्रयोग गर्न सुझाव दिएकी छन् ।
बाणगंगाका अर्का किसान सत्यनारायण थारुको अनुभव पनि सेनको भन्दा फरक छैन । विगतमा धान काट्ने समयमा खेताला नपाउने र बाली भित्र्याउन ढिलाइ हुने समस्या भोगेका थारु अहिले हाते रिफर मेसिनको प्रयोगले सहज भएको बताउँछन् । उनका अनुसार पहिले एक बिघा खेतको धान काट्न दुईदेखि तीन दिनसम्म लाग्थ्यो । धान काट्ने समयमा खेताला नपाउँदा पाकेको बाली खेतमै राख्नुपर्ने अवस्था पनि हुन्थ्यो ।
तर मेसिनको प्रयोग गर्न थाले पछि कम समयमा धेरै क्षेत्रफलको धान काट्न सकिने भएको छ । “पहिले धान काट्ने समयमा खेताला खोज्न निकै समस्या हुन्थ्यो ।
एक बिघा खेतको धान काट्न दुईदेखि तीन दिन लाग्थ्यो। अहिले मेसिनले छोटो समयमै काम सकिन्छ,” थारुले भने । उनका अनुसार मेसिन प्रयोग गर्दा श्रम कम लाग्ने, समय बचत हुने र लागत घट्ने भएकाले धान काट्ने काम पहिलेभन्दा सहज बनेको छ । विशेषगरी कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव बढ्दै गएको अवस्थामा यस्ता मेसिन किसानका लागि उपयोगी विकल्प बनेका छन् । बाणगंगामा हाते रिफर मेसिन सञ्चालन गर्दै आएका बुद्ध बहादुर शाहीले व्यक्तिगत लगानीमा करिब दुई लाख रूपैयाँ खर्च गरेर मेसिन खरिद गरेका हुन् । उनले किसानको खेतमा धान काटिदिए बापत प्रतिघण्टा १ हजार ८ सय रूपैयाँ लिने गरेको बताए ।
शाहीका अनुसार खेतको अवस्था, आकार र समथरपन अनुसार मेसिनले धान काट्ने गति फरक पर्छ । ठूला र मिलेको खेतमा एक घण्टामा पाँचदेखि छ कट्ठासम्म धान काट्न सकिन्छ । एक बिघा खेतको धान काट्दा करिब पाँच लिटर डिजेल खर्च हुने उनको भनाइ छ ।
मेसिन सञ्चालनका लागि दुई जना दक्ष जनशक्ति आवश्यक पर्ने शाही बताउँछन् । यद्यपि, हाते रिफर मेसिनका केही व्यावहारिक सीमासमेत छन् । मेसिन हातले समातेर हिँडाउँदै चलाउनुपर्ने भएकाले टाढाटाढाका खेतमा लैजान कठिन हुन्छ । धान काट्ने मुख्य सिजनमै मेसिन बिग्रिएमा तत्काल मर्मत गर्न समस्या हुने गरेको उनको अनुभव छ । “मेसिनले कम समयमा धेरै धान काट्न सकिन्छ। तर टाढाका खेतमा पु¥याउन र सिजनका बेला बिग्रिएमा मर्मत गराउन कहिलेकाहीँ समस्या हुन्छ,” शाहीले भने ।
जय किसान एग्रो प्रालिका सञ्चालक महेश घिमिरेका अनुसार पछिल्लो समय हाते रिफर मेसिनप्रति किसानको आकर्षण बढ्दै गएको छ । कृषि क्षेत्रमा श्रमिक अभाव बढ्नु र परम्परागत विधिबाट धान काट्न धेरै समय लाग्नु यसको प्रमुख कारण रहेको उनी बताउँछन ्।
घिमिरेका अनुसार एक बिघा खेतको धान काट्न पहिले १० जना खेताला परिचालन गर्दा करिब एक दिन लाग्ने गथ्र्यो । तर मेसिनको प्रयोगबाट करिब तीन घण्टामा काम सम्पन्न गर्न सकिन्छ। मेसिन सञ्चालन गर्दा प्रतिघण्टा करिब तीन लिटर डिजेल खर्च हुने र त्यसको मूल्यअनुसार करिब ६ सय रूपैयाँ खर्च लाग्ने उनले बताए ।
उनका अनुसार व्यक्तिगत रूपमा मेसिन खरिद गर्दा किसानले आफ्नै लगानी गर्नुपर्ने भए पनि समूह वा सहकारीमार्फत खरिद गर्दा अनुदानको अवसर लिन सकिन्छ । कृषि फार्म दर्ता गरी सम्बन्धित निकायमा आवेदन दिएपछि छनोटका आधारमा अनुदान प्राप्त गर्न सकिने व्यवस्था रहेको उनी बताउँछन्। यसबाट धेरै किसान लाभान्वित भएको उनको भनाइ छ । “कृषिमा जनशक्ति अभाव बढ्दै गएको छ। यस्तो अवस्थामा मेसिनको प्रयोगले कम समयमा धेरै काम गर्न सकिन्छ ।
किसानले समूह वा सहकारी मार्फत मेसिन खरिद गर्दा अनुदानको अवसरसमेत लिन सक्छन्,” घिमिरेले भने । उनका अनुसार खेतको आकार र अवस्था हेरेर उपयुक्त मेसिन छनोट गर्न सके कृषि कार्यलाई थप सहज बनाउन सकिन्छ । ठूला कृषि उपकरणको तुलनामा साना हाते मेसिनले केही अवस्थामा कम लागतमा काम गर्न सक्ने भएकाले साना तथा मझौला किसानका लागि पनि यो उपयोगी हुन सक्छ ।
बाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेष बहादुर केसीका अनुसार बाणगगामा करिब ६० प्रतिशत किसानले अहिले धान काट्न हाते रिफर मेसिनको प्रयोग गर्न थालेका छन् । कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दा किसानलाई समय, श्रम र लागत बचत गर्न सहयोग पुगेको उनको भनाइ छ । परम्परागत रूपमा हँसियाको प्रयोग गरेर धान काट्दा धेरै जनशक्ति र समय आवश्यक पर्ने भए पनि मेसिनबाट छोटो समयमा काम गर्न सकिने भएकाले किसानलाई सहज भएको केसी बताउँछन् । उनका अनुसार प्रत्येक वर्ष कृषकलाई मेसिन बारे तालिम समेत प्रदान गरिदै आएको छ । ढलेको धान काट्न चाहि नमिल्ने उनले बताए ।
कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउनु उत्पादन लागत घटाउने र उपलब्ध जनशक्तिको प्रभावकारी उपयोग गर्ने महत्वपूर्ण उपाय हो। विशेषगरी धान काट्ने समयमा खेताला अभाव हुने समस्या भोगिरहेका किसानका लागि हाते रिफर मेसिन उपयोगी बन्दै गएको छ । यद्यपि, मेसिनको प्रभावकारी प्रयोगका लागि किसानलाई आवश्यक जानकारी, सञ्चालन सम्बन्धी सीप, मर्मत सेवा र सहुलियतपूर्ण पहुँचको व्यवस्था पनि उत्तिकै महत्वपूर्ण हुन्छ। खेतको अवस्था र आकार अनुसार उपयुक्त मेसिन छनोट गर्न सके यसको उपयोगिता अझ बढ्न सक्छ ।
परम्परागत कृषि प्रणालीबाट आधुनिक प्रविधितर्फ अघि बढिरहेका बाणगंगाका किसानका लागि हाते रिफर मेसिन धान काट्ने विकल्प मात्रै बनेको छैन, कृषि कार्यमा लाग्ने समय र श्रम घटाउने माध्यमसमेत बनेको छ । समयमै धान काटेर बाली भित्र्याउन सकिने र खेताला व्यवस्थापनको झन्झट कम हुने भएपछि किसानमा यस्ता प्रविधिप्रति आकर्षण बढ्दै गएको छ ।