Butwal Today

दशैँ खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

श्रम ऐनअनुसार चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी दिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी उजुरी प्राप्त भएका हुन् ।

श्रम ऐन, २०७४ मा प्रत्येक श्रमिकलाई वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ । श्रमिकले कुनै विशेष चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दशैँमा खर्च उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान छ ।

ऐनको दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ । एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर, रोजगारदाता तथा प्रतिष्ठानले कानुनी प्रावधानअनुसार खर्च उपलब्ध नगराएको भन्दै श्रमिकले उजुरी दिएका हुन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार उजुरी प्राप्त भएपछि विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न कडा निर्देशन दिएको छ ।

विभागले दशैँ बिदाअघि नै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) लाई पत्राचार गरेको थियो । असोज २३ गते पठाइएको पत्रमार्फत ती संस्थालाई आफ्ना आबद्ध रोजगारदाता तथा प्रतिष्ठानलाई जानकारी गराई श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरिएको थियो ।

त्यसैगरी, असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पत्राचार गर्दै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो ।

विभागले उजुरीका आधारमा सम्बन्धित रोजगारदातासँग समन्वय गरी समस्या समाधानको पहल गरिरहेको पाण्डेले बताए । सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोलाई समेत आधार बनाएर सम्बन्धित कार्यालयले रोजगारदातासँग सम्पर्क गरी रकम भुक्तानीका लागि पहल गरिरहेको उनको भनाइ छ ।

चाडपर्व खर्च नपाएको भन्दै परेको उजुरीपछि श्रम तथा रोजगार कार्यालय बुटवलले रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई कर्मचारीको रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । कार्यालयले २०८३ असोज ३० गते अस्पताललाई पत्र पठाउँदै श्रम ऐनअनुसार कर्मचारीलाई चाडपर्व खर्च उपलब्ध गराउन भनेको थियो ।

त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको विवरण कार्यालयमा पेस गरेको छ । अस्पतालले कात्तिक ९ गते पठाएको जवाफमा असोज २९ गते नै कर्मचारीलाई एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम भुक्तानी गरिसकेको उल्लेख गरेको छ ।

महानिर्देशक पाण्डेका अनुसार भुक्तानीको पुष्टि गर्न अस्पतालले बैंकिङ कारोबारका प्रमाणित विवरणसमेत पेस गरेको छ ।

विभागले सम्बन्धित विद्यालयका प्रिन्सिपलसँग सम्पर्क गर्दा कतिपयले चाडपर्व खर्च उपलब्ध नगराएको स्वीकार गर्दै तत्काल भुक्तानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको पनि पाण्डेले बताए ।

श्रमिकका गुनासा चाडपर्व खर्चमा मात्र सीमित छैनन् । कतिपय श्रमिकले न्यूनतम पारिश्रमिकसमेत नपाएको र नियमित तलब भुक्तानी नहुने गरेको गुनासो गरेका छन् ।

पाण्डेका अनुसार दशैँअघि विभागले चाडपर्व खर्चसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सार्वजनिक सूचना जारी गर्दै श्रमिकलाई उजुरी दिन आह्वान गरेको थियो । त्यसपछि यस विषयमा व्यापक प्रचारप्रसार भएको र विभागको इमेल तथा पोर्टलमा मात्रै ६ सयभन्दा बढी उजुरी प्राप्त भएका थिए । त्यसबाहेक पनि थप उजुरी आउने क्रम जारी रहेको उनले बताए ।

श्रम ऐनले सुनिश्चित गरेको चाडपर्व खर्च उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व भएको उल्लेख गर्दै पाण्डेले कानुनमा भएको व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?