© 2026
काठमाडौं । प्रहरी संगठनका उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएका बेला नेपाल प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुखसहित उपत्यका प्रहरी कार्यालयका प्रमुखलाई काठमाडौं बोलाएको छ। प्रहरी स्रोतका अनुसार नक्सालस्थित प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित सातै प्रदेशका प्रहरी प्रमुख रहेका डीआईजीलाई बिहीबार दिउँसो १२ बजेभित्र उपस्थित हुन निर्देशन दिएको हो।
प्रहरी संगठनको चेन अफ कमान्ड र शान्तिसुरक्षा व्यवस्थापनमा असर पर्ने गरी सञ्चारमाध्यममा विभिन्न विषय सार्वजनिक हुन थालेपछि त्यसको प्रभाव र संगठनको आगामी रणनीतिबारे छलफल गर्न उनीहरूलाई बोलाइएको स्रोतको भनाइ छ। प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं पुग्नुअघि नै प्रहरी प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेसन कमिटी ९पीसीसी० को बैठक जारी रहेको छ। प्रहरी महानिरीक्षक आईजीपीको अध्यक्षतामा बस्ने उक्त बैठकमा प्रधान कार्यालय तथा काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकारी सहभागी हुने बताइएको छ।
प्रहरीप्रतिको जनविश्वासमा आँच पुग्ने र प्रहरी तथा नागरिकबीचको सहकार्य प्रभावित हुने गरी कुनै हस्तक्षेप वा चलखेल हुन नहुने विषयमा संगठनले आफ्नो सक्रियता बढाएको प्रहरी स्रोतले जनाएको छ। नेपाल प्रेसलाई प्राप्त जानकारीअनुसार कोशी प्रदेशका डीआईजी शेखर खनाल केही दिनदेखि बिदामा काठमाडौंमै छन्। मधेश प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी पनि कार्यालयको कामका सिलसिलामा केही दिनदेखि काठमाडौंमा रहेका छन्।
त्यस्तै, बागमती प्रदेशका डीआईजी दीपक रेग्मी, लुम्बिनी प्रदेशका भूपेन्द्रबहादुर खत्री, कर्णाली प्रदेशका जयराज सापकोटा र सुदूरपश्चिम प्रदेशका सानुराम भट्टराई हवाई मार्ग हुँदै काठमाडौं आइरहेको समाचारमा उल्लेख छ। प्रहरी प्रमुखहरूलाई काठमाडौं बोलाउनुको औपचारिक कारण र बैठकबाट हुने निर्णयबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।