© 2026
भैरहवा ।
तराईको समथर भूभाग, पाक्न लागेको धानबाली र टाढा देखिने हिमाल । बिहानको सुनौलो घामले धवलागिरी (८१६७ मिटर) र अन्नपूर्ण (८०९१ मिटर) हिमालका हिउँले ढाकिएका चुचुरोलाई चम्काइरहँदा भैरहवाको प्राकृतिक दृश्य मनमोहक देखिएको छ ।
रुपन्देहीको भैरहवा आसपासबाट देखिएको हिमाल, खेतबारी र खुला आकाशको यो दृश्यले तराई र हिमाली भू–दृश्यबिचको प्राकृतिक सम्बन्धलाई झल्काएको छ । अग्रभागमा सुनौलो रङमा देखिएका धानका खेत, बिचमा बस्ती र टाढा क्षितिजमा उभिएका हिमालले दृश्यलाई थप आकर्षक बनाएका छन् ।
मौसम सफा हुँदा रुपन्देहीका भैरहवा, मायादेवी र लुम्बिनी क्षेत्रबाट हिमाल देखिने गरेको छ । विशेष गरी बिहानको समयमा मौसम अनुकूल हुँदा टाढाका हिमालका चुचुरोमा घामको किरण पर्दा तिनको रङ परिवर्तन हुँदै गएको देखिन्छ । यस्तो दृश्यले स्थानीय बासिन्दासँगै प्रकृति र फोटोग्राफीमा रुचि राख्नेहरूलाई आकर्षित गरिरहेको छ ।
भैरहवा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा परिचित छ । यहाँको प्राकृतिक सौन्दर्यलाई धार्मिक तथा सांस्कृतिक पर्यटनसँग जोड्न सके पर्यटकको बसाइ अवधि लम्ब्याउन र स्थानीय पर्यटन व्यवसायलाई थप चलायमान बनाउन सहयोग पुग्न सक्छ ।
लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई बुद्धसँग सम्बन्धित सम्पदाका साथै तराईको ग्रामीण जीवन, कृषि संस्कृति, सूर्योदय र मौसम खुलेका बेला देखिने हिमाली दृश्यको अनुभव गराउन सकिने सम्भावना छ ।
