Butwal Today

चाडपर्व नजिकिएसँगै नवलपरासीमा चोरीका घटना बढ्दो 

११ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

नवलपरासी । 

चाडपर्व नजिकिएसँगै पश्चिम नवलपरासीमा चोरीका घटना बढ्न थालेका छन् । विशेष गरि दसैँ तिहार जस्ता ठुला चाडपर्वहरू सुरु भएसँगै दिनहुँ जसो चोरीका घटनामा वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार असोज र कार्तिक महिनाको १० गतेसम्म ८ वटा डाका चोरीका घटना भएकोमा चार वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार  व्यक्तिका घरहरूमा व्यक्तिगत तथा समूहले घरमा प्रवेश गरी नगद तथा जिन्सी सामान चोरी गर्ने गरेका छन् । त्यस्तै, साधारण चोरीका घटनामा घरका मालसामान चोरी भएको र चार जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

दर्ता भएका चोरीका घटनामध्ये सुनवल नगरपालिका,बर्दघाट नगरपालिकामा प्रतापपुर गाउँपालिका र रामग्राम नगरपालिकाबाट चोरीका घटना भएका छन् ।

प्रहरीका अनुसार चोरीका घटना प्रायः रातको समयमा घरमा कोही नभएको वा घर सुनसान रहेको मौका पारेर हुने गरेका छन् । साँझ ६ बजेदेखि बिहान ३ बजेसम्मको समयमा चोरी हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यसै गरी रामग्राम नगरपालिका–२ स्थित हाटबजारबाट साँझ करिब ६ बजे दुई वटा मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा हुलियासहितको निवेदन प्राप्त भएको प्रहरीले जनाएको छ । चोरी भएका मोटरसाइकलको खोजतलासका लागि हुलिया परिपत्र जारी गरिएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घरमा कोही नभएको अवस्थामा सुरक्षा सतर्कता अपनाउन, घर तथा सवारीसाधन सुरक्षित राख्न र शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । चोरीका घटनामा सिसि क्यामेरा जडान भएका स्थानहरूमा प्रमाण सङ्कलनलाई सहज हुने तर अन्य अवस्थामा हुलिया पहिचान र खोज कार्यमा कठिनाइ हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?