© 2026
नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१६, लालपाटीस्थित एशियन कन्क्रिटो उद्योगका मजदुर विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
वर्षौंदेखि काम गर्दै आए पनि नियुक्तिपत्र नपाएको र श्रम ऐनअनुसारका सेवा सुविधा उपलब्ध नगराइएको भन्दै करिब ८० जना मजदुर तथा कर्मचारीले काम बन्द गरेर उद्योग परिसरबाहिर धर्ना दिएका हुन् ।
मजदुरका अनुसार उनीहरू उद्योगमा नौ वर्षदेखि काम गर्दै आएका छन् । पटकपटक उद्योग प्रशासन र व्यवस्थापनसमक्ष आफ्ना माग राखे पनि सुनुवाइ नभएपछि वडा कार्यालयमा समेत निवेदन दिएका थिए । त्यसपछि उद्योग प्रशासनका कर्मचारीले कामबाट निकाल्ने धम्की दिन थालेको उनीहरूको आरोप छ ।
मजदुरले औषधोपचार खर्च, दुर्घटनामा घाइते हुँदा उपचारको व्यवस्था, बिमा, सुरक्षाका लागि आवश्यक जुत्ता, पोसाक र मास्कलगायतका सुविधा उपलब्ध गराउन माग गरेका छन् । त्यस्तै, दसैँ खर्च, श्रमसम्बन्धी कानुनी मापदण्डअनुसारको ज्याला, सार्वजनिक बिदाका दिन काम गरेबापत अतिरिक्त पारिश्रमिक र बोनसको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
‘हामीले उद्योगको विरोध गरेका होइनौँ, आफ्ना श्रमिक अधिकार मागेका हौँ । काम गर्न हामी तयार छौँ, तर श्रम ऐनअनुसार पाउनुपर्ने सुविधा उपलब्ध गराउनुपर्छ,’ आन्दोलनरत एक मजदुरले भने, ‘तत्काल सबै माग पूरा गर्न नसके पनि लिखित सहमति गरेर क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्छ ।’
मजदुरले काम गर्ने क्रममा चोटपटक लागेमा कम्पनीले उपचार खर्च बेहोर्नुपर्ने, कामदारलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने र श्रमिकले पाउनुपर्ने अन्य सेवा सुविधा सुनिश्चित गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार उद्योगमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु हुँदा कम्पनीबाट सहयोग नपाएपछि सहकर्मीले प्रतिव्यक्ति पाँच सय रूपैयाँ उठाएर मृतकको परिवारलाई सहयोग गरेका थिए ।
मजदुरले व्यवस्थापनबाट आफूहरूमाथि विभेदपूर्ण व्यवहार हुने गरेको आरोपसमेत लगाएका छन्। स्थानीय कामदार भएकै कारण आफूहरूले न्यून ज्याला र सीमित सुविधा पाउने गरेको उनीहरूको गुनासो छ ।
‘हाम्रै गाउँठाउँमा उद्योग स्थापना भएको छ । स्थानीयले जग्गा उपलब्ध गराएका छन्, तर यहीँका मजदुरले न्यून सुविधा पाउने र बाहिरबाट आउनेले बढी ज्याला तथा सुविधा पाउने अवस्था किन छ ?’ अर्का मजदुरले प्रश्न गरे ।
उद्योग व्यवस्थापनले माग सम्बोधन नगरेपछि बाध्य भएर शान्तिपूर्ण धर्नामा बस्नुपरेको मजदुरको भनाइ छ । उनीहरूले समस्याको समाधानका लागि स्थानीय प्रशासन, स्थानीय सरकार र उद्योग वाणिज्य संघलाई समेत पहल गरिदिन आग्रह गरेका छन् ।
रामग्राम नगरपालिका–१६ का वडाध्यक्ष विजयकुमार यादवले मजदुरले आफूलाई निवेदन दिएको र समस्या समाधानका लागि उद्योग प्रशासनलाई तीन पटकसम्म छलफलमा सहभागी हुन पत्राचार गरेको बताए । तर उद्योग प्रशासन सम्पर्कमा नआएको उनको भनाइ छ ।
‘यस्ता समस्या दुई पक्षबीचको वार्ताबाट समाधान गर्नुपर्छ । मजदुरले निवेदन दिएपछि छलफल गराउन तीन पटकसम्म पत्राचार गर्दा पनि उद्योग प्रशासनले चासो नदेखाएको अवस्था छ,’ वडाध्यक्ष यादवले भने । व्यवस्थापनले वार्तामा चासो नदेखाएपछि मजदुर आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए ।
यस विषयमा उद्योगका महाप्रबन्धक प्रदीप तिवारीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। उद्योग व्यवस्थापनको प्रतिक्रिया प्राप्त हुन नसकेकाले मजदुरले लगाएका आरोपबारे व्यवस्थापनको धारणा आउन बाँकी छ ।
मजदुरले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उद्योगमा काम गर्ने श्रमिकलाई नियुक्तिपत्र, उचित पारिश्रमिक, सुरक्षा र कानुनले तोकेका सेवा सुविधा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिएको छ ।