Butwal Today

एनपीएल : पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनापत्ति प्रमाणपत्र (एनओसी) नदिँदा उनीहरूको सहभागिता निश्चित हुन नसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार पाकिस्तानी खेलाडीहरूको एनओसी अहिलेसम्म प्राप्त भएको छैन । उनले पीसीबीले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बताए । ‘कसैले एनओसी दिएन भने हामीले जबरजस्ती खेलाउन सक्दैनौँ,’ चन्दले भने, ‘अहिलेसम्म एनओसी आएको छैन ।’

पीसीबीको कदमले फ्रेन्चाइज क्रिकेटको सम्भावना बोकेका लिगहरूलाई कमजोर पार्न सक्ने चन्दको भनाइ छ । ‘यो गलत नजिर स्थापित गर्ने काम हो । फ्रेन्चाइजमा सम्भावना भएका लिगहरूलाई कमजोर पार्ने खेल हो,’ उनले भने ।

पीसीबीले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको थियो । त्यसपछि पाकिस्तानी खेलाडीहरूको सहभागिताबारे अन्योल बढेको हो ।

एनपीएलका तीन फ्रेन्चाइज टोली कर्णाली याक्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेका थिए ।

कर्णाली याक्समा अनुबन्धित साहिबजादा फरहान स्वदेश फर्किसकेका छन् भने हुसेन तलतको सहभागिता पनि अनिश्चित छ । त्यस्तै, जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुनैन शाहलाई टोलीमा भित्र्याएको थियो ।

चितवन राइनोजले उसामा मिर, हसन अली र मोहम्मद नवाजलाई अनुबन्ध गरेको थियो । पाकिस्तानी खेलाडीहरूले खेल्न नपाए विदेशी खेलाडीको निर्धारित ४ जनाको कोटा पूरा गर्न फ्रेन्चाइज टोलीहरूलाई कठिनाइ हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?