© २०२३
बुटवल, २९ माघ ।
नेपाली राष्ट्रिय टिमको अनुभवी पुर्व क्रिकेटर शक्ति गौचनले बुबाको स्मृतिमा पाँचौ संस्करणको यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएका छन । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि हुने खड्ग प्रसाद गौचनको स्मृति पाँचौ संस्करणको राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको पुर्व क्रिकेटर गौचनले बताए ।
नेपाली राष्ट्रिय टिममा रहँदा देशकै नाम विश्वमा चिनाउन सफल रहेको गौचन सन्यासपछि निरन्तर क्रिकेट खेल र खेलाडीको विकासमा योगदान दिंदै आएका छन् । पडसरीमा स्टार क्रिकेट एकेडेमी संचालन गरेर उमेर समूहका खेलाडीलाई प्रशिक्षणसंगै यस क्षेत्रमा नियमित प्रतियोगिताहरु गर्दै आएका छन् । ‘वार्षिक कार्ययोजना बनाएर प्रतियोगिताहरु गर्दै आएको छु’–उनले भने । बुबाको स्मृतिमा यु–१६ खेलबाट शुरु गरेर पाँचौ संस्करणमा आईपुग्दा यु–१९ राष्ट्रिय प्रतियोगिता गर्न लागेको उनले बताए ।
पुरस्कार राशी पाँचौ संस्करणमा ३० हजार रुपैयाँ रहेको छ । स्टार एकेडेमीको संचालक र प्रशिक्षक समेत रहेका क्रिकेटर शक्ति गौचनले प्रतियोगिताको लिग चरणका खेलहरु देवदह क्रिकेट मैदान शितलनगरमा हुने उनले बताए । फाईनल खेल फागुन ११ गते सिद्धार्थनगर क्रिकेट रंगशालामा हुने उनले बताए । देवदह क्रिकेट मैदान शितलनगरमा सोमबार उद्घाटन खेल देवदह क्रिकेट युनिट र काशी नोबल एकेडेमीका बिचमा खेल हुनेछ । देशभरमा हुने अधिकास खेलहरु औपचारिकताका लागि खेलाइने गरेको छ । प्रतियोगिताको लिग खेलहरु २५ ओभरको हुनेछ भने फाईनल खेल ४० ओभरको खेलाइने उनले बताए । खेलाडीको नेपाली ब्याटिङ लाईनलाई यसले मद्दत गर्ने उनले दाबी गरे ।
यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टिम), न्यु होराईजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समुहमा राखेर ८ टिम बीच खेल हुनेछ । लिग आधारमा हुने खेलमा दुई समुहबीच ३–३ गरी कुल १५ खेल हुनेछ ।
यस्तो छ पाँचौ संस्करणसम्मको ईतिहास
स्वर्गीय बुबा खड्ग बहादुर गौचनको स्मृतिमा शुरु भएको क्रिकेट प्रतियोगिताको पहिलो संस्करण विद्यालयस्तरमा १० हजार रुपैया, कप, मेडल पुरस्कार राशी राखेर भएको थियो । दोस्रो संस्करणमा पाच फ्रेन्चाईज टिमहरु बनाएर प्रतियोगिता आयोजना भयो । जसमा बुटवल, भैरहवा, लुम्बिनी, पडसरी र देवदह टिम थिए । तेस्रो संस्करण राष्ट्रियस्तर गरियो । प्रतियोगितामा ओएसिस क्रिकेट एकेडेमी (काठमाडौँ), पोखरा क्रिकेट क्लब (पोखरा), धनगढी क्रिकेट एकेडेमी (धनगढी), न्यू होराइजन, साई ग्लोबल, न्यु मुन, स्टार क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमीले प्रतिष्पर्धा गरेका थिए । यो संस्करणमा विजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । चौथो संस्करणमा पनि राष्ट्रियस्तरको प्रतियोगिता भएको थियो । प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी, प्याट्रियटिक क्रिकेट ट्रेनिङ सेन्टर (झापा), देउखुरी क्रिकेट क्लब (दाङ), न्यु मुन एकेडेमी, स्टार क्रिकेट एकेडेमी, न्यू होराइजन, काशी नोबल एकेडेमी र दमकडा क्रिकेट क्लबले भाग लिएको थियो । यो संस्करणमा विजेताले नगद २० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको थियो ।