© 2026
रोल्पा ।
रोल्पाको माडी गाउँपालिका–१ चालाङभीरमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छन् । घर्तीगाउँबाट पेदिखोलातर्फ जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आज बिहान करिब १० बजे तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डअन्तर्गत चालाङभीरमा दुर्घटना भएको थियो। दुर्घटनाबारे बिहान १० बजेर २० मिनेटमा इलाका प्रहरी कार्यालय घर्तीगाउँमा टेलिफोनमार्फत सूचना प्राप्त भएको थियो ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठको कमान्डमा ११ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली बिहान १० बजेर ४५ मिनेटमा घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धानको काम अघि बढाएको थियो ।
प्रहरीका अनुसार, रोल्पाको माडी गाउँपालिका–३ तालाबाङ बस्ने करिब ४७ वर्षीय कमलसिंह बुढाले चलाएको नम्बर नखुलेको अटो अनियन्त्रित भई सडकबाट तल खसेको हो । दुर्घटनाका बेला चालकसहित तीन जना अटोमा सवार थिए। दुर्घटनामा परी घाइते भएका दुवै महिलालाई उद्धार गरी उपचारका लागि घर्तीगाउँस्थित स्मृति अस्पताल पठाइएको थियो ।
दुर्घटनामा माडी गाउँपालिका–१ जवाङ निवासी करिब ५४ वर्षीया गौसरा घर्तीमगर गम्भीर घाइते भएकी छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते घर्तीमगर बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।
त्यस्तै, माडी गाउँपालिका–१ घोर्नेटी निवासी ३२ वर्षीया खुमा कुमारी भण्डारी पनि दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारका लागि अस्पताल पुर्याइएकी भण्डारीलाई बिहान ११ बजेर ३५ मिनेटमा चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए । उनको शवको जाँच मुचुल्का तयार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न अटो चालक कमलसिंह बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक विवरणअनुसार चालकले मादक पदार्थ सेवन नगरेको र उनीसँग सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ । दुर्घटनाको विस्तृत विवरण तथा अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले घटनाबारे जानकारी दिएका हुन् । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट करिब पाँच किलोमिटर पश्चिममा पर्दछ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।