Butwal Today

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

जेरुसेलम ।

इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन् । अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन् ।

उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उहाँलाई लात्ती र फलामको बारले प्रहार गरेका थिए । फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।

यसअघि ‘द वासिङ्टन पोस्ट’ की अमेरिकी फोटो पत्रकार हेइडी लेभिन बस्तीका बासिन्दाहरूको आक्रमणमा परी घाइते भएका थिए । उनको मेरुदण्डको हड्डी भाँचिएको छ । अमेरिकी राजदूत माइक हुकाबीले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

इजरायली विदेश मन्त्रालयले आक्रमणको निन्दा गर्दै अनुसन्धान गर्ने जनाएको छ । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बस्तीवासीविरुद्ध बदनाम गर्ने अभियान चलाइएको आरोप लगाएका छन् । उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले भने हिंसाले इजरायलको अन्तर्राष्ट्रिय वैधानिकता कमजोर बनाइरहेको बताएका छन् ।

जैतुन टिप्ने वार्षिक मौसममा वेस्ट ब्याङ्कमा हिंसा बढ्ने गरेको छ । प्यालेस्टिनी किसानले बस्तीवासीबाट आक्रमण र जग्गा कब्जाको सामना गर्नुपरेको आरोप लाग्दै आएको छ । सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कमा करिब ३० लाख प्यालेस्टिनी र पाँच लाख इजरायली बस्तीवासी बसोबास गर्छन् । अन्तर्राष्ट्रिय कानूनअनुसार इजरायली बस्ती अवैध मानिन्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?