Butwal Today

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-
अमेरिका ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन् । विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न निर्णय गरिएको विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । तर, यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन् ।
रुबियोका अनुसार इरानमाथिको युद्ध र यमनका हुथी समूहका आक्रमणलगायत द्वन्द्वले विश्वव्यापी तेल तथा डिजेलको मूल्य बढाएको छ । यस्ता घटनाले समग्र अर्थतन्त्रमा असर पारिरहेकाले प्रतिबन्ध र शुल्कको प्रभाव विश्लेषण गर्नुपर्ने उनको भनाइ छ ।
अमेरिकी कङ्ग्रेसले गत महिना पारित गरेको कानूनमा रुसी अधिकारी, धनाढ्य वर्ग र वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउनुका साथै रुसी तेल तथा ग्यासका प्रमुख खरिदकर्तालाई कारबाही गर्ने अधिकार राष्ट्रपतिलाई दिइएको थियो । युक्रेनविरुद्धको युद्धका लागि रुसले आर्थिक स्रोत जुटाउन नपाओस् भन्ने यसको उद्देश्य थियो । तर, कानून कार्यान्वयन हुनुभन्दा दुई दिनअघि शुक्रबार ट्रम्पले कार्यकारी आदेशमार्फत छुट दिएका थिए ।
रिपब्लिकन सिनेटर थोम टिलिसले यस निर्णयलाई गैरजिम्मेवार भन्दै ऊर्जा मूल्य घटाउन पुटिनलाई सहयोग गर्नुभन्दा इरानको समस्या समाधान गर्नुपर्ने बताएका छन् । अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले पनि यसलाई गल्ती भनेका छन् ।
रुबियोले रुसी डिजेल विश्व बजारमा कुनै न कुनै रूपमा पुग्ने भएकाले अमेरिकाले त्यसको हिस्सा प्राप्त गर्नु व्यावहारिक हुने तर्क गरे । डिजेल सडक निर्माण, कृषि र निर्माण क्षेत्रमा महत्त्वपूर्ण इन्धन हो । इरान युद्धका कारण बढेको इन्धन मूल्य आगामी महिना हुने मध्यावधि निर्वाचनअघि अमेरिकी मतदाताको प्रमुख चिन्तासमेत बनेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले रुसमाथिका थप प्रतिबन्ध हटाउन सक्ने चिन्ता व्यक्त गर्दै ट्रम्पको निर्णयले पुटिनलाई पुरस्कृत गरेको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?