© 2026
सल्यान ।
लोपोन्मुख पौराणिक सेरेङ्गे (मयूर) नाचको संरक्षण र पुस्तान्तरणमा जुटेका यहाँका विद्यार्थीले विभिन्न सार्वजनिक तथा सांस्कृतिक समारोहमा मयूर नाच प्रदर्शन गर्न थालेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा करिब एक महिनाको प्रशिक्षणपछि नाच सिकेका विद्यार्थीले सार्वजनिक कार्यक्रमहरूमा मयूर नाच देखाउन थालेका हुन् ।
विद्यार्थीले विभिन्न समारोहमा नाच प्रस्तुत गर्न थालेपछि लोप हुने अवस्थामा पुगेको मौलिक संस्कृतिलाई नयाँ पुस्तामार्फत निरन्तरता दिने प्रयासले सार्थकता पाउन थालेको छ । उनीहरूले असोज २५ गते घटस्थापनाका दिन वडा नं.५ को प्रशासकीय भवन उद्घाटन समारोहमा नाच प्रस्तुत गरेका थिए । मयूर नाचको प्रस्तुतिले प्रशंसा पाएपछि विद्यार्थीमा परम्परागत कला संरक्षणप्रतिको उत्साह थपिएको छ ।
छत्रेश्वरी गाउँपालिका, ५ चौरपानीस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका विद्यार्थीले सिकेको मयूर नाच त्यसयता स्थानीयको विवाह उत्सव र वडामै रहेको भगवती मन्दिर उद्घाटन समारोहमा समेत प्रदर्शन गरिसकेका छन् ।
मौलिक कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विद्यालयले विद्यार्थीलाई सेरेङ्गे नाचको प्रशिक्षण दिएको हो । करिब एक महिनासम्म मेहनत र उत्साहका साथ विद्यार्थीले नाच सिकेको प्रशिक्षक विजयकुमार घर्तीले जानकारी दिए । विद्यार्थीले सिकेको सीप सार्वजनिक समारोहमा प्रस्तुत गर्न थालेपछि शिक्षक, अभिभावक र स्थानीयवासी समेत उत्साहित भएका छन् ।
नाचको संरक्षण र प्रशिक्षणका लागि छत्रेश्वरी गाउँपालिका, ५ लेखपोखरा ढोरेनी निवासी रमेश बुढामगरले एक लाख रुपैयाँ बराबरको सहयोग गरेका छन् । नाचका लागि आवश्यक सामग्री खरिददेखि प्रशिक्षकको पारिश्रमिक सम्मको खर्च उनले व्यहोरेका हुन् ।
मयूर नाचका कलाकारले कम्मरको पछाडि बाँध्ने मयूरका प्वाँखको विशेष चक्का वा झुप्पा ९गरुवा० तयार गर्न मात्रै ५० हजारदेखि ८० हजार रुपियाँसम्म लाग्ने गर्छ । प्रशिक्षकको पारिश्रमिक ४० हजार रुपैयाँ रहेको छ । परम्परागत नाचको संरक्षणका लागि आर्थिक सहयोग जुटाएर बुढामगरले महत्त्वपूर्ण योगदान गरेको विद्यालयको भनाइ छ ।
छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले मौलिक कला र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए । नयाँ पुस्तालाई परम्परागत नाच सिकाउँदा लोप हुने अवस्थामा पुगेको संस्कृतिले निरन्तरता पाउने उनको भनाइ छ ।
प्रशिक्षक घर्तीले परम्परागत नाचको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई यसको सीप हस्तान्तरण गर्नु आवश्यक रहेको बताए । विद्यार्थीले नाच सिकेर सार्वजनिक समारोहमा प्रदर्शन गर्न थालेकाले आगामी पुस्ताले समेत यसलाई निरन्तरता दिन सक्ने उनले विश्वास व्यक्त गरे ।
युवाहरू रोजगारी र अध्ययनका लागि विदेशलगायत गाउँबाहिर जाने क्रम बढ्नु, आधुनिक गीतसङ्गीतप्रति आकर्षण बढ्नु र नयाँ पुस्तामा मौलिक संस्कृतिप्रति रुचि घट्नुजस्ता कारणले पौराणिक कला र संस्कृतिको अस्तित्व सङ्कटमा पर्दै गएको छ । यस्तो अवस्थामा छत्रेश्वरी गाउँपालिका, २ र ५ का स्थानीयवासी तथा पछिल्लो पुस्ताले मयूर नाच जोगाउन प्रयास गरिरहेका छन् ।
मयूर नाच प्रस्तुत गर्न २२ जनाभन्दा बढी कलाकार आवश्यक पर्ने अगुवाहरू बताउँछन् । कलाकारको ठुलो समूह, विशेष पोसाक तथा सामग्रीको खर्च र निरन्तर अभ्यास आवश्यक पर्ने भएकाले यसको संरक्षण चुनौतीपूर्ण छ । विद्यालय स्तरबाटै प्रशिक्षण सुरु गरी विद्यार्थीलाई सार्वजनिक कार्यक्रममा सहभागी गराइँदा यस नाचलाई समुदायमा पुनः स्थापित गर्ने सम्भावना बढाएको छ ।
मयूर नाचसँगै सोरठी, लहरे नाच, पञ्चेबाजा लगायतका पौराणिक लोककला, संस्कृति र रैथाने बाजा समाजको संस्कार तथा पहिचानका अभिन्न अङ्ग हुन् ।