© 2026
अर्घाखाँची ।
धार्मिक तथा पर्यटकीयस्थल सुपा देउराली मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकहरु बढेका छन् । मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ नेपाल तथा भारतका विभिन्न भागबाट दर्शनार्थीको बढेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष गणेश थापाले बताए ।
सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको दोसाध सुपामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ। उक्त मन्दिर समुद्र सतहबाट करिब चार हजार पाँच सय फिटको उचाइमा रहेको छ। सुपा देउरालीमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।
यो मन्दिर प्राचीन निर्माण कलाको प्रयोग गरी बनाइएको समितिले जनाएको छ। भाकल गर्नेले इच्छा पूरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन्। आजभोलि नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट मानिस बढी आउने गरेका छन्। शक्तिपीठका रूपमा परिचित सुपा देउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको सन्धिखर्क–७ का वडाध्यक्ष चुराबहादुर केसीले बताए। वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ। जे भाकल गर्यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको उनको भनाइ छ।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किलोमिटर दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला–ठूला पहाडको खोचमा प्राचीन शैलीमा उक्त मन्दिर निर्माण गरिएको छ। मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरूप एकै खालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क तथा धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पुर्याउन आवश्यक पूर्वाधार विकासलगायत विषयमा गुरुयोजना बनाएर काम अघि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जानकारी दिए ।
सुपा देउराली मन्दिरमा संकलन हुने भेटीले जिल्लाका चारवटा विद्यालयमा निजी शिक्षकहरूका लागि तलब समेत प्रदान गर्दै आएको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए । मनको इच्छा पूरा हुने विश्वासले मन्दिरको दर्शन गर्न आउने भक्तजनले पूजा गरेपछि भेटी चढाउँछन्। त्यही भेटीबाट सन्धिखर्क–७, खाँचीकोटको आदर्श मावि, शीतगङ्गा–२, सीतापुरको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयका १० जना शिक्षकले तलब पाइरहेका मन्दिरका लेखापाल सुनिल केसीले बताएका छन् । सन्धिखर्कमा रहेको पाणिनी वेद विद्याश्रममा एकजना शिक्षकको तलब बराबर रकम प्रदान गर्दै आएको छ। त्यसैगरी खाँचीकोट स्वास्थ्य चौकीमा एकजना स्वास्थ्यकर्मीलाई पनि मासिक तलब मन्दिरको भेटीबाट उठेको रकमबाट प्रदान गरिदै आएको लेखापाल केसीको भनाइ छ ।
भेटीको रकम सडक, खानेपानी, बिजुली, भवन निर्माणलगायत काममा खर्च भइरहेको समितिका सचिव हरि खनालको भनाइ छ। मन्दिरमा आउने धार्मिक दर्शनार्थीको सुविधाका लागि धर्मशाला पनि निर्माण भइरहेको सन्धिखर्कका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। पार्किङ निर्माणका लागि पनि पहल भइरहेको उनको भनाइ छ।
विजयादशमीको अवसरमा दैनिक गरिने वैदिक पूजाबाहेक दुर्गा भगवतीको आराधना गर्दै दुर्गा सप्तशती पाठ गरिँदै आएको मन्दिर संरक्षण समितिका अध्यक्ष थापाको भनाइ छ ।