Butwal Today

दसैँको उमङ्ग, सद्भाव र जिम्मेवारी

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

दसैँ नेपाली समाजको सबैभन्दा ठूलो सांस्कृतिक पर्वमध्ये एक हो । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म विभिन्न विधि र परम्परासहित मनाइने यो पर्व धार्मिक आस्था, पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको प्रतीक हो । वर्षभरि काम, अध्ययन, व्यवसाय र रोजगारीका कारण टाढिएका परिवारका सदस्यलाई एकै ठाउँमा जोड्ने अवसर पनि दसैँले प्रदान गर्छ । यस पर्वले परिवार र समाजबिचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी प्रेम, सद्भाव र सहकार्यको सन्देश दिन्छ ।

दसैँको आगमनसँगै बजारमा चहलपहल बढेको छ । रोजगारी, अध्ययन र विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका नागरिक आफ्नो गाउँघर फर्किने क्रम जारी छ । सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ भने बजारमा किनमेल गर्नेको भीड देखिन थालेको छ । बा(लबालिकादेखि ज्येष्ठ नागरिकसम्ममा दसैँको उल्लास देखिन्छ । तर, पर्वको यही रौनकका बिच आर्थिक असमानता, महँगी र सीमित आम्दानीका कारण सबै परिवारले समान रूपमा दसैँ मनाउन सक्ने अवस्था छैन । त्यसैले दसैँको खुसी प्रदर्शन र खर्चमा मात्र होइन, आपसी सहयोग र मानवीय संवेदनामा खोजिनुपर्छ ।

दसैँले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक मान्यताले अन्याय, अत्याचार र अहङ्कारविरुद्ध उभिन प्रेरणा दिन्छ । यस सन्देशलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी दैनिक व्यवहार र सामाजिक जीवनमा पनि लागू गर्न आवश्यक छ । समाजमा व्याप्त विभेद, हिंसा, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउनु नै पर्वको सन्देशलाई व्यवहारमा उतार्नु हो ।

पछिल्लो समय दसैँ मनाउने क्रममा अनावश्यक तडकभडक र प्रतिस्पर्धात्मक खर्च बढ्दै गएको छ । सामाजिक प्रतिष्ठाका नाममा ऋण लिएर खर्च गर्ने प्रवृत्तिले कतिपय परिवारलाई आर्थिक बोझ थपेको छ । चाडपर्वमा खुसी बाँड्नु आवश्यक भए पनि आफ्नो आर्थिक अवस्थाअनुसार खर्च गर्नु बुद्धिमानी हुन्छ । चाडपर्वको वास्तविक महत्व महँगा वस्तुको खरिद, भोजभतेर वा प्रदर्शनमा होइन, परिवारसँगको समय, आत्मीयता र सद्भावमा निहित हुन्छ ।

दसैँको समयमा सडक दुर्घटना, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति, जुवातास र अन्य अवाञ्छित गतिविधि पनि चुनौतीका रूपमा देखिन्छन् । यात्रालाई सुरक्षित बनाउने, ट्राफिक नियम पालना गर्ने, ज्येष्ठ नागरिक तथा बालबालिकाको विशेष ख्याल राख्ने र छिमेकी तथा विपन्न परिवारको खुसीमा सहभागी हुने जिम्मेवारी सबैको हो । चाडपर्वको नाममा हुने फजुल खर्च र विकृतिलाई निरुत्साहित गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्छ ।

दसैँको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गरौँ । आपसी मनमुटाव हटाउँदै मेलमिलापको वातावरण निर्माण गरौँ । विपन्न, असहाय र दुःखमा परेका नागरिकसँग खुसी बाँडौँ । दसैँलाई व्यक्तिगत उल्लासमा मात्र सीमित नराखी सामाजिक एकता, सद्भाव र जिम्मेवार नागरिकताको अभ्यास गर्ने अवसरका रूपमा उपयोग गर्न सके यस पर्वको महत्व अझ बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?