© 2026
सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा वर्षौँदेखि विद्युतको प्रतीक्षामा रहेका बस्तीमा धमाधम बिजुली पुग्न थालेको छ । पोल र तार विस्तार भएको आठ वर्षसम्म पनि विद्युत् उपभोग गर्न नपाएका वडा नं ७ स्थित घुइयाबारी, बाटुले गाउँ र ज्यामिरे खोलीका घरमा यसपालि दसैँअघि बत्ती बलेको छ भने वडा नं। ४ का खोल्टेपानी र रलाङ टोलका १५ घरधुरीले पनि पहिलोपटक विद्युत सेवा पाएका छन् । गाउँपालिकाका विभिन्न वडामा भइरहेको विस्तारले विद्युत् पहुँच बढाउनुका साथै लामो समयदेखि सुविधाबाट वञ्चित घरपरिवारमा नयाँ आशा जगाएको छ ।
कालिमाटी गाउँपालिका, ७ का घुइयाबारी, बाटुले गाउँ र ज्यामिरे खोली टोलका १३० घरमा विद्युत मिटर जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ । यस अघि यी बस्तीका ९७ घरपरिवारमा विद्युत् पुगेको थियो । पछिल्लो विस्तारसँगै तीनवटै टोलमा पूर्ण विद्युतीकरण भएको वडा अध्यक्ष मित्रलाल रिजालले जानकारी दिए ।
वर्षौँदेखि विद्युतको प्रतीक्षामा रहेका स्थानीयले यसपालि दसैँ उज्यालोमा मनाउन पाएका छन् । घरमा बत्ती बल्न थालेपछि बालबालिकाको पढाइ, घरायसी कामकाज र दैनिक जीवन सहज हुने अपेक्षा गरिएको छ । स्थानीय हरि आरसीले विद्युत सेवा विस्तार भएपछि गाउँमा खुसीयाली छाएको बताए ।
यस्तै, कालिमाटी गाउँपालिका, ४ को खोल्टेपानी र रलाङ टोलका १५ घरधुरीमा पनि पहिलोपटक विद्युत पुगेको छ । वडा अध्यक्ष बेलबहादुर चन्दका अनुसार वडाका अन्य टोलमा समेत विद्युत् विस्तारको काम भइरहेको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा भइरहेको कामले विद्युत् पहुँच विस्तारलाई थप गति दिएको छ ।
कालिमाटी, ७ का सबै घरधुरीमा विद्युत सेवा पुर्याउने लक्ष्यसहित बाँकी बस्तीमा पनि काम भइरहेको छ । र्याङ, तल्लो बाटुले, सल्यानथरी, हाउखोला, स्वामिबास र कुसुनतरा लगायतका बस्तीमा विद्युत विस्तार हुन बाँकी छ ।
निर्माणको काम समयमै सम्पन्न भए मंसिरसम्म वडाका सबै घरधुरीमा विद्युत पुर्याउने लक्ष्य रहेको वडा अध्यक्ष रिजालले बताए । “वर्षौँदेखि विद्युतको प्रतीक्षामा रहेका बस्तीमा अहिले बत्ती बल्न थालेको छ । बाँकी बस्तीमा पनि मंसिरसम्म विद्युत पुर्याउने लक्ष्य राखेका छौँ,” उनले भने ।
नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार बाँकी बस्तीमा पनि सम्भव भएसम्म तिहार अघि नै विद्युत सेवा सञ्चालन गर्ने तयारी छ । ती क्षेत्रमा एसियाली पूर्वाधार लगानी बैंक ९एआईआईबी० अन्तर्गतको आयोजना मार्फत विद्युतीकरणको काम भइरहेको छ ।
आयोजनाले निर्माणको काम सम्पन्न गरी प्राधिकरणलाई जानकारी गराएपछि लाइन चार्ज गरेर परीक्षण गरिनेछ । परीक्षण सफल भएपछि मात्रै विद्युत आपूर्ति सुरु गर्न सकिने फिल्डमा खटिएका प्राविधिक कर्मचारीले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीका अनुसार विभिन्न वडामा पोल, तार तथा अन्य विद्युतीय संरचना निर्माण र विस्तारको काम भइरहेको छ । हाल संरचना जडान तथा विस्तार गरिएका बस्तीमा लाइन चार्ज गरेर सेवा सञ्चालन गर्न सके गाउँपालिकाभर करिब ८५ देखि ९० प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुग्ने उनले जनाए ।
कालिमाटी गाउँपालिका, ६ र ७ का केही बस्तीमा विद्युत विस्तारको काम वर्षौँअघि सुरु भए पनि स्थानीयले लामो समयसम्म सेवा उपभोग गर्न पाएका थिएनन् । घुइयाबारी क्षेत्रमा पोल र तार पुगेको करिब आठ वर्षसम्म पनि घरमा बत्ती नबल्दा स्थानीयको प्रतीक्षा लम्बिएको थियो ।
२०७५ र २०७७ सालतिर वितरण लाइन विस्तार आयोजना अन्तर्गत करिब छ करोड रुपैयाँ खर्च गरेर पोल, तारलगायतका संरचना निर्माण गरिएको बताइएको छ । तर सबस्टेसन र मुख्य प्रसारण लाइनसँग आवश्यक कनेक्टिभिटी नहुँदा संरचना बनेको वर्षौँसम्म विद्युत आपूर्ति हुन सकेन ।
बबईबाट घुइयाबारीसम्म विद्युत पुर्याउने उद्देश्यले निर्माण गरिएका कतिपय संरचना लामो समयसम्म प्रयोगविहीन रहे । गाउँसम्म पोल र तार पुगे पनि विद्युत सेवा सञ्चालन नभएपछि स्थानीयले सम्बन्धित निकायमा पटकपटक माग राख्दै आएका थिए ।
नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार पुराना संरचनामध्ये आवश्यक संरचना प्रयोग गर्नुका साथै थप संरचना निर्माण र मर्मतसम्भार गरेर विद्युत् सेवा सञ्चालनमा ल्याइएको हो । यसबाट लामो समयसम्म उपयोगविहीन रहेका संरचनाको उपयोग हुन थालेको र स्थानीयले बल्ल विद्युत सेवाको लाभ लिन पाएका हुन् ।
कालिमाटी गाउँपालिकाका विभिन्न वडामा विद्युतीकरणको काम अघि बढेसँगै विद्युत् पहुँच विस्तार हुने घरधुरीको संख्या बढ्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अनुसार निर्माण भएका संरचनामा विद्युत आपूर्ति सञ्चालन गर्ने र बाँकी बस्तीमा विस्तारको काम प्राथमिकताको साथ भैरहेको छ ।
विद्युत सेवा विस्तारले घरमा उज्यालो थप्नुका साथै बालबालिकाको अध्ययन, सञ्चारका साधनको प्रयोग तथा घरायसी कामकाजमा सहजता ल्याउने अपेक्षा गरिएको छ । नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार जिल्लामा हालसम्म करिब ७८ प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युत् सेवा विस्तार भएको छ । बाँकी क्षेत्रमा समेत विद्युत पहुँच पुर्याउन काम भइरहेको केन्द्रले जनाएको छ ।