© 2026
गुल्मी । गुल्मीमा एक वृद्धामाथि हँसिया प्रहार गरी सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–१२ का ३३ वर्षीय सोनु कामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार रेसुङ्गा नगरपालिका–१३ भँगारीकी ६५ वर्षीया यमकला छन्त्याललाई घरमा कोही नभएको मौका छोपी शुक्रबार साँझ घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरिएको हो । लुटपाटका क्रममा उक्त व्यक्तिले वृद्धाको टाउकोमा हँसिया प्रहार गरी घाइते बनाएका थिए ।
घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो । खोजतलासका क्रममा आरोपितलाई गुल्मीदरबार गाउँपालिका–७ बोेटे गाउँबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएकी छन्त्यालको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । प्रहरीले खोजतलासका क्रममा आरोपितको साथबाट लुटिएको करिब एक तोला बराबरको सुनको सिक्री र घाइतेमाथि प्रहार गर्न प्रयोग गरिएको एक थान हँसिया समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।