Butwal Today

लुम्बिनीमा निक्षेप थुप्रियो,निष्क्रिय कर्जा ७.२४ प्रतिशत

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ। निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार कमजोर हुनु र निष्क्रिय कर्जाको अनुपात बढ्नुले प्रदेशको आर्थिक गतिविधि तथा बैंकिङ क्षेत्रको कर्जा गुणस्तरबारे प्रश्न उठाएको छ। नेपाल राष्ट्र बैंकको लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रदेशका बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ९१ अर्ब ९४ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन भएको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप १९.९७ प्रतिशतले बढेको हो।

तर, सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा भने ५ खर्ब ९७ अर्ब ९९ करोड ४० लाख रुपैयाँ पुगेको छ। कर्जा प्रवाहको वृद्धिदर ३.५९ प्रतिशतमा सीमित छ। निक्षेप र कर्जाको वृद्धिदरबीच ठूलो अन्तर देखिँदा प्रदेशमा संकलित बचतको तुलनामा लगानी विस्तार हुन नसकेको देखिन्छ। असार मसान्तसम्म संकलित निक्षेप र प्रवाहित कर्जाबीच करिब १ खर्ब ९३ अर्ब ९५ करोड रुपैयाँको अन्तर रहेको छ।

रुपन्देहीमा केन्द्रित बैंकिङ कारोबार

जिल्लागत तथ्यांकले लुम्बिनी प्रदेशको बैंकिङ कारोबार रुपन्देहीमा बढी केन्द्रित रहेको देखाउँछ। प्रतिवेदनअनुसार रुपन्देहीमा ३ खर्ब २१ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन भएको छ। यो प्रदेशभर संकलित कुल निक्षेपको करिब ४०.६ प्रतिशत हो। कर्जा प्रवाहमा पनि रुपन्देही नै अगाडि छ। जिल्लाका बैंक तथा वित्तीय संस्थाबाट असार मसान्तसम्म ३ खर्ब २७ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ। यसको विपरीत रुकुम पूर्वमा सबैभन्दा कम ३ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन भएको छ। उक्त जिल्लामा कर्जा प्रवाह १ अर्ब ५५ करोड २८ लाख रुपैयाँ मात्रै छ। यी तथ्यांकले प्रदेशभित्रै बैंकिङ पहुँच, आर्थिक गतिविधि र लगानीको वितरणमा ठूलो अन्तर रहेको देखाउँछन्।

शाखा घटे, निष्क्रिय कर्जा बढ्यो

प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या पनि घटेको छ। ‘घ’ वर्गका वित्तीय संस्थासमेत समेट्दा २०८३ असार मसान्तसम्म २ हजार ७४ शाखा सञ्चालनमा रहेका छन्। अघिल्लो वर्षको तुलनामा शाखा संख्या ३.४ प्रतिशतले घटेको हो। यद्यपि, बैंकिङ सेवाको प्रयोग गर्ने निक्षेपकर्ता र ऋणीको संख्या बढेको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा निक्षेपकर्ताको संख्या ३.७० प्रतिशतले बढेर ९७ लाख ७७ हजार ७ सय ४६ पुगेको छ। ऋणीको संख्या पनि ३.१८ प्रतिशतले बढेर २ लाख ९९ हजार ४ सय १३ पुगेको छ। अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात बढेर ७.२४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ५।९८ प्रतिशत थियो। एक वर्षमा निष्क्रिय कर्जा अनुपात १.२६ प्रतिशत बिन्दुले बढेको हो। निष्क्रिय कर्जा बढ्नुले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा समयमै असुल हुन नसक्ने जोखिम बढेको संकेत गर्छ। निक्षेप संकलनमा उल्लेख्य वृद्धि भए पनि कर्जा विस्तार सुस्त हुनु र निष्क्रिय कर्जा बढ्नुले बैंकिङ क्षेत्रका लागि लगानीको अवसर विस्तारसँगै कर्जाको गुणस्तर कायम राख्नु पनि चुनौतीपूर्ण बनेको देखाउँछ।

लुम्बिनी प्रदेशमा निक्षेप संकलन बढ्दै जाँदा त्यसअनुसार उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार हुन नसक्नु अर्थतन्त्रका लागि महत्त्वपूर्ण विषय बनेको छ। उद्योग, कृषि, पर्यटन तथा साना व्यवसायमा लगानीको माग र बैंकको कर्जा प्रवाहबीचको सम्बन्धले प्रदेशको आर्थिक गतिविधिमा प्रभाव पार्न सक्छ। तर, निक्षेप र कर्जाको वृद्धिदरबीचको अन्तरका आधारमा मात्रै लगानी सुस्त हुनुको कारण वा बैंकमा रहेको रकमको उपयोग नभएको निष्कर्ष निकाल्न सकिँदैन। यसका लागि कर्जाको माग, ऋणीको वित्तीय अवस्था, लगानीयोग्य परियोजनाको उपलब्धता र बैंकहरूको जोखिम मूल्यांकनलगायत पक्षको थप अध्ययन आवश्यक हुन्छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको तथ्यांकले लुम्बिनी प्रदेशको बैंकिङ क्षेत्रमा निक्षेप संकलन बढिरहेको भए पनि कर्जा विस्तार र कर्जाको गुणस्तर सुधारमा थप ध्यान दिनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?