© 2026
कपिलवस्तु ।
विश्व शान्तिको कामना गर्दै थाइल्यान्डबाट आएका २५ जना बौद्ध भिक्षुले बुद्ध जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रोधाराम (कुदान) सम्म शान्ति पैदलयात्रा गरेका छन् । रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोतको नेतृत्वमा थाई भिक्षुहरूले शान्ति, अहिंसा र सद्भावको सन्देश प्रवाह गर्दै पैदलयात्रा गरेका हुन् । विश्वमा शान्ति कायम गर्ने उद्देश्यले यात्रा गरिएको प्रमुख भिक्षु सुपोतले बताए ।
वाट थाई नेपालका सचिव राजेश ज्ञवालीका अनुसार निग्रोधाराम भगवान् गौतम बुद्धसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थल हो । बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कनुभएका गौतम बुद्धले यही स्थलमा आफ्ना छोरा राहुललाई पहिलोपटक भेट्नुभएको धार्मिक मान्यता छ । सचिव ज्ञवालीले बुद्धका शान्ति, करुणा, मैत्री र अहिंसाका सन्देशलाई विश्वभर फैलाउन यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने जनाए। उनले लुम्बिनीदेखि निग्रोधाराम सम्मको पैदल यात्राले बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलको धार्मिक तथा पर्यटकीय महत्व उजागर गर्नसमेत सहयोग पुग्ने बताए ।
भगवान् गौतम बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलका रूपमा परिचित निग्रोधाराममा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीहरू पुग्ने गरेका छन् । यस्ता धार्मिक गतिविधिले कपिलवस्तु र लुम्बिनी क्षेत्रको बौद्ध पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने जनाईएको छ ।
यसैबिच, विश्व शान्ति, सद्भाव र अहिंसाको सन्देश फैलाउँदै अन्तर्राष्ट्रिय रूपमा परिचित बौद्ध भिक्षु पन्नाकरसहितको टोलीलाई कपिलवस्तुको तिलौराकोटमा स्वागत गरिएको छ । अशोका कुकुर सहितको टोलीलाई तिलौराकोट दरवार परिसरमा कपिलवस्तु नगरपालिकाको टोलीले स्वागत गरेको हो । सो अवसरमा कपिलवस्तु नगरपालिकाको पर्यटन ब्रोसर समेत विमोचन गरिएको छ । बिहीबार ऐतिहासिक तिलौराकोट परिसरमा आयोजित कार्यक्रममा भिक्षु पन्नाकर तथा उहाँका सहयात्री बौद्ध भिक्षुहरूको स्वागतसँगै नगरपालिकाभित्रका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय सम्पदाको पहिचान झल्काउने ब्रोसर सार्वजनिक गरिएको हो।
‘वाक फर अमेरिका’ शान्ति अभियानका प्रेरणास्रोत भिक्षु पन्नाकरसहितको टोलीले बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथअन्तर्गतका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमणसमेत गरेको छ।