© 2026
कपिलवस्तु ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय लुम्बिनी प्रदेशले उपभोक्ता अधिकार संरक्षण र बजारमा हुने अनियमितता नियन्त्रणका लागि प्रदेशका १२ वटै जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको छ । निर्देशनालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको संयोजन तथा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ र पत्रकारको सहभागितामा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बजार अनुगमन गरिएको छ ।
निर्देशनालयका वरिष्ठ शाखा अधिकृत अष्टराज गौतमका अनुसार बुद्धभूमि नगरक्षेत्रका होटल, किराना पसललगायत करिब ३५ वटा व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरिएको हो । यसअघि रुपन्देही र नवलपरासीमा पनि बजार अनुगमन गरिएको जनाए । अनुगमनका क्रममा व्यवसायीले खरिद तथा बिक्री बिल नराखेको, मूल्यसूची र साइनबोर्ड नराखेको, खरिदबिक्री खाता व्यवस्थित नगरेको, दर्ता प्रमाणपत्र नवीकरण नगरेको तथा खुद्रा बिक्रीको अनुमति लिएर थोक कारोबार गरेको पाइएको छ । त्यस्तै, नापतौल अनुमति नलिएको र लेबल नभएका खाद्यवस्तु बिक्री गरेकोसमेत भेटिएको छ ।
उपभोक्ता हित संरक्षण ऐन, २०७५ अनुसार गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायीमाथि आवश्यक कारबाही गरिएको अनुगमन समितिका संयोजक तथा कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । अनुगमन टोलीले बुद्धभूमि नगरपालिका–२ अन्तर्गत गोरुसिङ्गे, वडहरा र बुड्ढी क्षेत्रबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका भारतीय सूर्तीजन्य पदार्थ तथा गुट्खासमेत बरामद गरेको थियो । बरामद गरिएका सामग्री नष्ट गरिएको समितिले जनाएको छ ।
पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाउने निर्णय गरेको छ । बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन परिषद्को बैठकले उपभोक्ता अधिकार संरक्षण, बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थालाई प्राथमिकता दिएको छ ।
निर्देशनालयले भने चाडपर्वमा मात्र नभई नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ । बजारमा हुने अनुचित व्यापारिक गतिविधि नियन्त्रण, व्यवसायलाई कानुनी दायरामा ल्याउने र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा पाउने अवस्था सुनिश्चित गर्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको निर्देशनालयका वरिष्ठ अधिकृत नरबहादुर अर्यालको भनाई छ ।
अनुगमनमा, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तुका प्रमुख राजेन्द्र सिंह लोध, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सीता बन्जाडे लगायतको सहभागिता थियो ।