Butwal Today

लुङ्ग्री गाउँपालिकामा भूमि प्रशासन सेवा सुरु, अब गाउँमै पाइनेछ जग्गासम्बन्धी सेवा

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

रोल्पा ।

रोल्पाको लुङ्ग्री गाउँपालिकामा भूमि प्रशासन सेवा सुरु भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भरतकुमार थापाले सेवाको उद्घाटन गरेका हुन् । सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिकले जग्गासम्बन्धी प्रशासनिक सेवा गाउँपालिकाबाटै प्राप्त गर्न सक्ने भएका छन् ।

गाउँपालिकामै भूमि प्रशासन सेवा सुरु भएपछि जग्गासम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । यसबाट नागरिकको समय र खर्च बचत हुनुका साथै स्थानीय तहबाटै सरकारी सेवा प्रवाह सहज र प्रभावकारी हुने विश्वास लिइएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले लुङ्ग्री गाउँपालिकामा सुरु भएको भूमि प्रशासन सेवा रोल्पा जिल्लाकै पहिलो, लुम्बिनी प्रदेशको पाँचौँ र देशभरको ३२औँ सेवा भएको जानकारी दिए । उनले स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा नागरिकलाई जग्गासम्बन्धी कामका लागि टाढा जानुपर्ने बाध्यता कम हुने बताए ।

भूमि प्रशासन सेवा गाउँपालिकाबाटै उपलब्ध हुँदा स्थानीय नागरिकले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने उनले बताए । सरकारी सेवा नागरिकको घरआँगनसम्म पुर्‍याउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष भरतकुमार थापाले नागरिकलाई गाउँपालिकाबाटै सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न पहल गर्दै आएको बताए । उनले केही समयअघि गाउँपालिका–५, किलाचौरमा खाद्य सेवा सञ्चालनमा ल्याइएको स्मरण गर्दै अहिले भूमि प्रशासन सेवा पनि गाउँपालिकामै सुरु गर्न सफल भएको बताए ।

“हामीले गाउँपालिकाबाटै नागरिकलाई सहज सेवा दिने उद्देश्यले विभिन्न पहल गर्दै आएका छौँ । केही समयअघि किलाचौरमा खाद्य सेवा सञ्चालनमा ल्यायौँ, अहिले भूमि प्रशासन सेवा पनि गाउँपालिकासम्म ल्याउन सफल भएका छौँ । यसले लुङ्ग्रीवासीलाई सहज हुने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास लिएका छौँ,” अध्यक्ष थापाले भने ।

उनले गाउँगाउँमै सरकारी सेवा पुर्‍याउने अभियानले स्थानीय नागरिकलाई ‘गाउँगाउँमा सिंहदरबार’ को अनुभूति गराउने बताए । गाउँपालिकाबाटै सेवा उपलब्ध हुँदा नागरिकले अनावश्यक समय र खर्च खर्चिनुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्ने उनले बताए ।

भूमि प्रशासन सेवा उद्घाटनका अवसरमा पहिलो जग्गा कारोबारसमेत सम्पन्न भएको थियो । खुमिसरा खड्काले जग्गा बिक्री गरी पेमे कामीका नाममा राजीनामा लिखत पारित गराएपछि जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको थियो । गाउँपालिका अध्यक्ष भरतकुमार थापा, उपाध्यक्ष दिलकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत अनिलकुमार रिजालले संयुक्त रूपमा पुर्जा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङले सेवा सञ्चालनले स्थानीय नागरिकलाई जग्गासम्बन्धी काम गर्न सहज हुने बताइन् । भूमि प्रशासन कार्यालय रोल्पाका प्रमुख डिल्ली राज न्यौपाने र नापी कार्यालय रोल्पाका प्रमुख सन्तोष न्यौपानेले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी, बह्राक्षेत्र माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी लुङ्ग्री गाउँपालिका सभापति केबी खड्का, नेपाली कांग्रेस लुङ्ग्री गाउँपालिका सभापति मोती पुन, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्वअध्यक्ष मानसिंह विक तथा गौरीशंकर माध्यमिक विद्यालयकी शिक्षिका नौसरा थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

लुङ्ग्री गाउँपालिकामै भूमि प्रशासन सेवा सुरु भएपछि जग्गा खरिदबिक्री, राजीनामा लिखत पारित तथा जग्गाधनी पुर्जासम्बन्धी कामका लागि अन्यत्र जानुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । विशेषगरी यातायात खर्च र समय व्यवस्थापनमा समस्या भोग्दै आएका स्थानीय नागरिकलाई यस सेवाले राहत पुर्‍याउने विश्वास गरिएको छ ।

स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुनु गाउँपालिकामा सरकारी सेवा विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले नागरिकलाई सहज सेवा उपलब्ध गराउनुका साथै स्थानीय तहप्रतिको पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?