© 2026
काठमान्डौँ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका ईनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीमाथि प्रहरीले राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ ।
प्रहरीको विशेष ब्युरोले असोज १४ गते नयाँ दिल्ली जान लागेको अवस्थामा सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार सापकोटामाथि राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान भइरहेको छ । गैरकानुनी वा आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिको स्रोत लुकाएर वैध बनाउने प्रयास गरेको आशंकामा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिन्छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाउन त्यससँग सम्बन्धित आधारभूत कसुर ९प्रेडिकेट अफेन्स० स्थापित हुनुपर्ने कानुनी व्यवस्था छ । प्रहरीले सापकोटाको साथबाट बरामद विदेशी मुद्राको कारोबारलाई सम्बद्ध कसुरका रूपमा लिएर अनुसन्धान अघि बढाएको हो ।
पक्राउ पर्दा सापकोटाको साथबाट १ हजार ४ सय अमेरिकी डलरसहित अन्य केही देशका मुद्रा पनि बरामद भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी विदेशी मुद्राको कारोबार गर्न पाइँदैन । राष्ट्र बैंकका नियम तथा परिपत्रअनुसार नेपाली नागरिकले विदेश आवतजावत गर्दा बैंकबाट सटही गरेको विदेशी मुद्राको विवरण पासपोर्टमा उल्लेख हुनुपर्छ । तोकिएको सीमाभन्दा बढी रकम भेटिएपछि प्रहरीले सापकोटामाथि राष्ट्र बैंकसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो ।
३१ वर्षीय सापकोटा झापाका स्थानीय हुन् । उनका परिवार बुढानीलकण्ठमा बस्दै आएका छन् । उनी काठमाडौंको पानीपोखरीस्थित ‘पानीपोखरी हाइट’ अपार्टमेन्टमा बस्ने गरेका थिए । प्रहरीले उनको अपार्टमेन्टमा छापा मारेर त्यहाँ भेटिएका कागजात तथा डिजिटल सामग्री नियन्त्रणमा लिएको छ ।
पूर्वप्रधानन्यायाधीश जबराले सापकोटालाई परिचालन गरी व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित मुद्दामा चलखेल गरेको आशंका गरिएको छ । जबरालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले असोज ११ गते मध्याह्न रिहा गरेको थियो । व्यवसायी भट्ट र अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हाल जेलमा छन् ।
सापकोटाको मोबाइल फोन फरेन्सिक परीक्षणका लागि प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबमा पठाइएको एसएसपी घिमिरेले बताए । ‘मोबाइल परीक्षण गर्न पठाएका छौँ, रिपोर्ट आएको छैन,’ उनले भने ।
जबरालाई प्रहरी कार्यालयमा भेटेको विषयसँगै बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालसँग पनि सापकोटाको सम्पर्क देखिएको छ । सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको जाँचबुझ समितिले तयार पारेको प्रतिवेदनमा दाहाल र सापकोटाबीच सम्पर्क रहेको उल्लेख छ ।
जाँचबुझ समितिसमक्ष दाहालले सापकोटासँग संवाद हुने गरेको स्वीकार गरेका छन् । चिनजान र एउटै जिल्लाका बासिन्दा भएकाले ह्वाट्सएप तथा मोबाइल फोनमार्फत कुराकानी हुने गरेको उनले बयानमा बताएका छन् ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दाहालले ह्वाट्सएपमार्फत सापकोटालाई प्रधानमन्त्री बालेन्द्र शाहको ‘लोकेसन’बारे जानकारी दिएकोसमेत पुष्टि भएको छ ।
यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार जबराका भाइ प्रभु शमशेर जबरा, नवराज थपलिया, दीपक तिमल्सिना, नारायण दाहाल र नवीन बस्नेतको घरमा छापा मारेको थियो । उनीहरू जबराका निकटस्थ मानिन्छन् ।