Butwal Today

जसले देशलाई दिए तर केही लिएनन….

२७ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल ।

डा. बिजय पौडेलको नाम नेपालको राजनीतिक इतिहासमा नसुन्ने सायदै कम होलान । २०५० देखि ६० को दशकमा तिनै बिजय पौडेल नेकपा एमाले रुपन्देहीमा सर्वाधिक चर्चित नाम थियो । नेकपा एमाले रुपन्देहीको सचिव (विधानमा अध्यक्षको व्यवस्था नहुँदा) त्यतिबेलाको कार्यकारी पद थियो । बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको पुत्रको रुपमा मात्रै होइन, बिजयको अलग्गै राजनीतिक इतिहास र पहिचान थियो । देश परिवर्तन गर्ने हुटहुटी उनमा थियो । बनाउने त्यसपछि पौडेलको बसाई रुपन्देहीबाट काठमाण्डौं स¥यो । त्यसपछि उनी पढाईमा केही समय ब्यस्त भए । माक्र्सवादी अर्थशास्त्रका अध्येता तथा लेखकको रुपमा समेत उनको ख्याती छ । पौडेलले नेपालको सन्दर्भमा माक्र्सवादी अर्थव्यवस्थाको सान्दर्भिकता विषयमा पिएचडी गरेर डा.बिजय पौडेल बने । उनी डा. विजय पौडेल यो संसारबाट विदा लिएको खबर सुन्दा सवै आश्चर्यचकित हुनुपरेको छ । उनले सरकारी स्तरबाट ठूलै लाभको पद लिनसक्थे तर एकपटक सांसद बाहेक उनले केही लिएनन् । डा. पौडेलको मृत्युको खबर सुन्नासाथ धेरैले समबेदना प्रकट गरेका छन् । अफसोच जसले अर्थशास्त्रबाट पिएचडी ग¥यो, उही पैसाको अभावमा संकटमा परेको खबर सुन्नुप¥यो । डा. बिजय पौडेलसंगका स्मृति, मृत्युपछि ब्यक्त गरिएका सहानुभूति तथा उनको सम्झनामा उनी निकटहरुले खर्चिएका श्रद्धासुमनका शब्दहरु यहाँ राखिएको छ ।

विजय दाई के लेखौं ?

नेकपा एमालेका नेता खिमलाल भट्टराई लेख्नुहुन्छ– वचपनको याद आइरहेको छ । पछिल्ला दिनहरुमा साथ सम्पर्क त्यति भएन । बाटो अलग परेर होला सायद । संस्थागत आर्थिक संकटको भुमरीमा तपाईं पर्नु भएको अलिअलि थाहा थियो । तर सहयोग गर्ने हैसियत भएन र यो अवस्था आउँला भन्ने पनि लागेन । जिन्दगी संघर्ष मै थियो । तर, दाई तपाई संघर्षमा पराजित हुनुभयो । बाल्यकालदेखि नै ममा तपाईसँग एउटा अभिभावकत्वको अनुभूति थियो । हिजो मध्य दिनदेखि त्यो गुमेको छ । रुपन्देहीमा नेकपा (एमाले) निर्माण र विस्तारमा तपाईको अतुलनीय भुमिका र योगदान छ । साविक लुम्बिनीमा तपाईले प्रशिक्षित र स्थापित गर्नु भएका हामी दर्जनौं कार्यकर्ता छौं । यद्यपि तपाईले अपनाउनु भएको फरक राजनीतिक मार्गले हामी तपाईको दुःखसुखमा पूर्ववत नजिक हुन सकेनौं । समिक्षा, सल्लाह र गुनासोको अब अर्थ पनि रहेन । अकल्पनीय र कारुणिक मृत्युमार्गमा तपाईं हिंडेकोमा गहिरो पीडावोध भैरहेको छ ।

दाजु विजय हार्दिक श्रद्धासुमन !

बुवा मोदनाथ प्रश्रित, आमा कविता, भाउजू रमा, छोरी निष्ठा, छोरा रवि, छोरी कावेरी, बैनीहरु शैलु र रचना सहित सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । यस दुखद परिस्थितिमा यहाँहरु सबैलाई धैर्यधारण गर्ने क्षमता प्राप्त होस् ! देशको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा तपाई डा. विजय पौडेल चिरन्जीवी, अमर रहिरहनु हुनेछ ।

नरेन्द्रराज प्रसाईः

हामी घर आउँदा रात छिप्पिने क्रममा थियो । सामाजिक सञ्जालै भरि तिमी नै तिमीमात्र देख्ता मलाई न डाँको छोडेर रूनु, न आकास थर्कने गरी कराउनुजस्तै भयो । मेरा आँखाभरि मोदनाथ दाई, कविता भाउजू र रम्भा बुहारी एकनासले भिजिरहे । तीन हप्ताअघि दाजु गोपाल थपलिया र हामी नै तिम्रा घर पुग्दा प्रश्रित दाइले ‘मेरो छोरा विजय र बुहारी रम्भाले हामीलाई हेरविचार गरेका छन्’ भनेका शब्द फेरि मेरा मनमा खेल्न थालेका छन् । केही दिनअघि तिमीले मलाई फोन गरेर बोलेका शब्द मेरा कानमा अहिले गुञ्जिरहेका छन् । मैले आँखा पुछ्दै तिमीसितको संवाद खोलेर हेरेँ; फेरि मेरो छाती फुटिरह्यो । किन होला ? ईश्वरले मोदनाथ दाईलाई आमाकै पेटमा बसेदेखि नै ठगिरहे । अब दाजु भाउजूको हालत कस्तो हुन्छ होला भन्ने म सोचिरहेको छु । दाजु भाउजूको अवस्था सम्झेर मभित्र फेरि अर्को व्यथा उब्जिएको छ । गौँथलीको गुँड बनाउन मैले पनि मेरो गच्छे अनुसारको रगतपसिना बगाएकै थिएँ । फेरि विजय बाबुले किन असिमित महत्वाकांक्षा राखेको होला भन्ठान्थेँ । तर यसबारे तिमीसित मैले कुनै वादविवाद गर्न पनि रूचाएको थिइनँ ।

हामी धेरैलाई रूवाएर तिमी सारै छिटो गयौ; भतिज ! हामी यतिबेला तिम्रै बयान गरेर बसिरहेका छौँ । तिमीलाई अर्थ मन्त्री दिन्छु भनेर गफ लाउनेको अहिले मेरो मन र आँखामा देखापरिरहेको नै छ । तर के टुङ्गो र ! तिम्रो पार्थिव शरीरमा झन्डा ओडाउन पनि उनै अघि सर्न बेर छैन ।
प्रियभतिज ! तिमीलाई हामी नई परिवारको अश्रुपूर्ण श्रद्धाञ्जली छ ।

शिव अधिकारी, पत्रकार

टेलिभिजन पत्रकारिताको मेरो जीवनको पहिलो पाइला जनता टेलिभिजनबाटै सुरु भएको थियो । त्यही यात्राका क्रममा धेरै व्यक्तिहरूसँग भेट भयो, धेरैसँग संगत भयो । तीमध्ये विजय सरसँगको भेट र उहाँले मप्रति देखाउनुभएको विश्वास आज झल्झली सम्झिरहेको छु । जनता टेलिभिजनको अध्यक्ष हुनुहुन्थ्यो उहाँ । पहिलो भेटमै उहाँले मभित्र केही सम्भावना देख्नुभएको थियो सायद । त्यसैले त मलाई सधैँ ‘हाम्रो मधेशको स्टार’ भन्नुहुन्थ्यो । उहाँका ती शब्द मेरा लागि केवल प्रशंसा थिएनन्, अगाडि बढ्न हौसला दिने विश्वासका शब्द थिए । हामीबीच धेरै विषयमा असहमति हुन्थ्यो । कतिपय बेला श्रम र पारिश्रमिककै विषयलाई लिएर निकै विवादपनि भयो । रिसाएँ, झर्किएँ, चित्त दुखाएँ पनि होला । तर उहाँले कहिल्यै आवेशमा आएर होइन, सधैँ सरल, शान्त र धैर्यतापूर्वक हामीलाई सम्हाल्नुहुन्थ्यो । आज ती पुराना विवादहरू सम्झिँदा मन भारी भएको छ । कति कुरा त समयमै बुझ्न सकिएन, कति कुरा समयमै भन्नपनि सकिएन ।

आज उहाँ अब यो संसारमा हुनुहुन्न भन्ने अकल्पनीय खबर सुन्दा हात काँपिरहेको छ, मनले स्वीकार गर्न सकिरहेको छैन । कुनै समय भेटेर कुरा गरौँला, कुनै दिन फेरि भेट होला भन्ने लाग्थ्यो । तर, जीवनले सधैँ अर्को अवसर दिँदैन रहेछ । विजय सर, तपाईंले मभित्र देख्नुभएको सम्भावना र दिनुभएको हौसला सधैँ सम्झिरहनेछु । आज तपाईंलाई सम्झेर लेख्नुपरेका यी शब्द भन्दा भारी मनभित्रका भावना छन्, जसलाई शब्दमा उतार्न सकिरहेको छैन । तपाईंले देख्नुभएको त्यो सपना, दिनुभएको विश्वास र भन्नु हुने ‘हाम्रो मधेशको स्टार’ भन्ने आत्मीय सम्बोधन जीवनभर सम्झनामा रहनेछ ।

कृष्ण मल्लः

जस्तोसुकै संकट र कठिन परिस्थितिको पनि सहज ढंगले सामना गर्नुहुन्थ्यो विजय सर ! हुँदैन भन्ने कुरा उहाँको शब्दकोषमा थिएन । हुन्छ, अवश्य हुन्छ, म छु नि ! आशा र समाधानमुखी उहाँको वचन हुने गथ्र्यो । सबैलाई सम्मान गरेर बोल्नु हुन्थ्यो । दैनिकजसो ह्वाटसएपमा उहाँसँग कुरा हुन्थ्यो । बाहिरबाट जति आत्मविश्वासी र सहज देखिएपनि भित्रभित्रै उहाँ नराम्ररी टुट्नु भएको रहेछ । उहाँ चरम आर्थिक संकटमा हुनुहुन्छ भन्नेकुरा हामी सबैलाई राम्रोसँग थाहा थियोे । उहाँमाथि आश्रित दर्जनौं मानिसहरु उहाँलाई दैनिक आफ्ना समस्या÷गुनासो सुनाउँथे । पछिल्लो समय ती समस्या सम्बोधन गर्न समस्या भैरहेको थियो । उहाँका अरु समस्या र बाध्यताहरु के थिए त्यो त थाहा भएन तर मैले महसुस गरेको एउटा कुरा चाहिँ के हो भने– उहाँसँग ‘म संगै छु’ भनेर भरोसा जगाउने मान्छे पनि थिएन । उहाँ राजनीतिकर्मी र कुशल अर्थशास्त्री भएपनि उहाँलाई साथ दिने त्यो वृतमा कोही थिएन । विजय सरको महाप्रस्थान देशको अधोगतिको असर पनि हो । केही गरौ भन्ने भावना भएका व्यक्तिलाई राज्यले बचाउनु पर्छ, संरक्षण र प्रोत्साहन दिनुपर्छ । अन्यथा, सयौ मानिसहरु विजय पौडेल बन्न बाध्य हुनेछन् । विजय सरसँग एउटै सोफामा बसेर गरेका गफमात्र अब सम्झना रहे ! पछिल्लोपटक हामीले बालेन सरकारका काम र सम्भावित उलटफेरबारे छलफल गरेका थियौं । अब मात्र सम्झना । कहिंकतै व्यवहारमा बिझाउने गरि केही बोलेको भए माफ गर्नुहोला पृय विजय सर !
संयोजनः छवि पाण्डे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?