© 2026
रास्वपा नेतृत्वको सरकार बनेदेखि नीजि क्षेत्र सरकारप्रति विश्वस्त हुन सकिरहेको छैन् । सरकारले विनाकारण उद्योगी व्यवसायीलाई धरपकड गरिरहेको छ । जसको असर मुलुकको औद्योगिक क्षेत्रमा परेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुटवल उद्योग बाणिज्य संघको कार्यक्रममा सरकारले नीजि क्षेत्रलाई त्रसित बनाएको वताउँदै आशा जगाउन नसकेको बताए । श्रेष्ठको भनाईले पुष्टी गर्दछ– नीजि क्षेत्रलाई थुनेर समस्याको समाधान हुँदैन । उनले पछिल्लो समय उद्योग बाणिज्य क्षेत्रको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका लागि नीजि क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका छन तर, सरकार भने ठिक उल्टो बाटोमा हिडेको छ । त्यसैपनि नीजि क्षेत्रले कैयौं अकल्पनीय चुनौतीको सामना गर्नु परिरहेको छ ।
नीजि क्षेत्रको मनोबल खस्किँदा मुलुकको गार्हस्थ्य उत्पादनमा करिव २० प्रतिशतको योगदान दिएको यो क्षेत्र हायलकायल भएको छ । पहिले भुकम्प, त्यसपछि कोरोना, त्यसपछि अर्को भुकम्प अनि अहिले प्राकृतिक विपदको कारण नीजि क्षेत्र त्यसैपनि कमजोर छ । यही बेला उद्योगी व्यवसायीको साख गिराउने र व्यवसायीहरूलाई राजनीतिक आस्थाका आधारमा दलीयकरण गर्ने खतरा बढिरहेको छ ।
अव नीजि क्षेत्रले आफ्नो भूमिकाको स्पष्ट रेखांकन गर्ने बारे चुप लागेर बस्नु बुद्धिमानी कदापि हुनेछैन । विगतमा मुलुकमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्व, उद्योगी व्यवसायीमाथिको आक्रमण, शान्ति प्रक्रियाको चरणमा पनि राजनीतिक दलहरूबाट डर–त्रास देखाउँदै चन्दा लिने कार्य र बन्द–हडतालको अन्त्य नभएको हामी सबैले बिर्सिन नसकेका आततायी घटना हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको एक दशक बितिसक्दा अहिले पनि मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको सकस छ । समाजमा देखिएको त्यसको क्रिया–प्रतिक्रिया, आरोप–प्रत्यारोप, समर्थन–विरोधका आवाजहरूले नचाहँदा नचाहँदै पनि नीजि क्षेत्रलाई तरंगित तुल्याइरहेको छ । यस हिसाबले नीजि क्षेत्रतर्फ सोझिने ती प्रश्नहरू स्वाभाविक र स्वयंका लागिपनि चिन्तनीय छन् ।
त्यसैपनि उद्योग चलाउन लगानीकर्ता, कामदार, उपभोक्ता र स्थानीय समुदायसँग नियमित सम्बन्ध बनाइरहनुपर्ने हुन्छ । व्यवसायको सामाजिक, आर्थिक र पर्यावरणबाट सरोकारवालाहरू पनि प्रभावित रहेका हुन्छन् । यसले गर्दा जिम्मेवार व्यवसायीले सरोकारवालाहरूलाई पार्ने प्रभावलाई अर्थपूर्णरूपमा लिएर त्यसको सम्बोधनमा अग्रसरता देखाउनु जरुरी छ । मुलुकमा चलेको द्वन्द्व, संरचनागत विभेद, आर्थिक, सामाजिक र विकासमा असमानताको अन्त्य अनि त्यसकालागि ल्याएका सामाजिक, आर्थिक र राजनीतिक मुद्दाहरूलाई तथ्यगत तर्कमा आधारित भएर स्वस्थ बहस गर्न नीजि क्षेत्र अझैपनि तयार छ । यस अर्थमा जिम्मेवार ढंगले व्यावसायीक उद्योगधन्दा चलाउन पाउने वातावरण निर्माणको लागि, आफ्नो व्यावसायिक उन्नतिका अतिरिक्त मुलुकको शान्ति, समृद्धि र समाजमा व्यापक सम्मान एवम् स्वीकारोक्तिका लागि सरकारले पुलको काम गर्नुपर्छ ।
कुनैपनि देश सफल बनाउनका लागि अर्थतन्त्र सबल हुनुपर्दछ ।
समाज र अर्थतन्त्रको यही परिपूरक सम्बन्धको आधारमा उद्यमी व्यवसायीले आजको राजनीतिलाई जनमुखी र जनताप्रति उत्तरदायी बनाउन सक्नुपर्छ । वर्तमान सरकार गठनका ६ महिना बितिसक्दापनि सरकारप्रति नीजि क्षेत्र सशंकित हुनु राम्रो संकेत होइन । यता आजको वैज्ञानिक र प्रविधिको विकासको समयमा पनि लाखौँ युवा कामका लागि विदेशिएका छन् । देशमा स्थायित्व र शान्ति अनि राजनीतिक स्थिरताको अभाव झनै समस्या बढेर गएको छ ।
हामीले देश विकासको मोडेल तयार गरी अगाडि बढ्न सकेका छैनौं । राजनीतिक स्थिरतालाई कायम गर्न नसक्नुजस्ता कारणले आम जनता निराश बन्ने अवस्था सिर्जना भएको छ । अझैपनि समय घर्किसकेको छैन । त्यसैले मुख्य समस्यामा एकमत हुनु जरुरी छ । यतिखेर सहमति, सहकार्य र एकता अनिवार्य भएको छ । खासगरी नीजि क्षेत्रलाई जहिलेसम्म सरकारले दूरको नजरले हेर्छ, तबसम्म समस्याको समाधान हुन सक्दैन ।