© 2026
विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान, प्रदेशहरूबीच आर्थिक सहकार्य विस्तार र विकास निर्माणलाई प्रभावकारी बनाउने साझा रणनीति तय गर्न सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्। कोशी प्रदेश सरकारले असोज २७ र २८ गते आयोजना गर्न लागेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रत्येक प्रदेशबाट मुख्यमन्त्रीसहित पाँच जनाका दरले ३५ जना सहभागी हुनेछन्।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार सम्मेलनमा प्रदेश सरकारका साझा समस्या पहिचान गरी संघीय सरकारसमक्ष साझा धारणा प्रस्तुत गर्ने, सफल अभ्यास आदानप्रदान गर्ने तथा विकास निर्माण र सेवा प्रवाहमा सहकार्य बढाउने विषयमा छलफल हुनेछ। प्रत्येक प्रदेशबाट मुख्यमन्त्रीसहित पाँच जना सहभागी हुने गरी सम्मेलन आयोजनाको तयारी अगाडि बढाएका छौँ,’ निरौलाले भने। सम्मेलन जिम्मेवारी पाएको कोशी प्रदेश योजना आयोगले साझा घोषणापत्र तयार गरी जारी गर्ने तयारीसमेत गरेको छ।
सम्मेलनको पूर्वतयारीका क्रममा संघीय सरकारसमक्ष प्रस्तुत गरिने साझा एजेन्डा छनोट गरिने निरौलाले बताए। प्रदेशहरूबीचको साझेदारीमार्फत विकास निर्माण र सेवा प्रवाह प्रभावकारी बनाउने उपायसँगै सम्मेलनलाई नियमितता दिन स्थायी संयन्त्र निर्माण गर्ने विषयमा पनि छलफल हुनेछ। सम्मेलनलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी प्रदेशहरूबीच नियमित संवाद, समन्वय र सहकार्य गर्ने साझा मञ्चका रूपमा विकास गर्ने आयोजकको तयारी छ। सम्मेलनमा संघीय सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपाध्यक्षसमेत सहभागी हुनेछन्।
उद्घाटन सत्रमा १७० जनाको सहभागिता
सम्मेलनमा सहभागी हुन सातै प्रदेशका प्रतिनिधि असोज २६ गते सोमबार साँझ विराटनगर आइपुग्नेछन्। असोज २७ गते मंगलबार बिहान ९ बजे सातै प्रदेशका मुख्यमन्त्रीले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। सम्मेलनको अध्यक्षता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन्। बिहान ९ देखि ११ बजेसम्म सञ्चालन हुने उद्घाटन सत्रमा कोशी प्रदेशका मन्त्री तथा सचिव, प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री, निजी क्षेत्रका प्रतिनिधि तथा गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधि सहभागी हुनेछन्।
त्यसैगरी चारवटै सुरक्षा निकायका प्रमुख, झापा, मोरङ र सुनसरीलगायत नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेशस्तरीय राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेतक र स्थानीय सञ्चारकर्मीलाई पनि आमन्त्रण गरिने कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले जानकारी दिए।
उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक सत्रमा सातै प्रदेशका असल अभ्यास र उपलब्धिबारे छुट्टाछुट्टै प्रस्तुति गरिनेछ। त्यसपछि अन्तरप्रदेश साझेदारी, संघीयताको सबलीकरण र प्रदेशहरूबीच साझा एजेन्डाका विषयमा गहन छलफल हुने सुवेदीले बताए। प्रदेश सरकारका साझा समस्या, अधिकार कार्यान्वयन तथा संघ–प्रदेश र प्रदेश–प्रदेशबीचको समन्वय र सहकार्यलाई छलफलको केन्द्रमा राखिनेछ। प्रदेशहरूले सञ्चालन गरेका सफल कार्यक्रम र तिनबाट प्राप्त अनुभव आदानप्रदान गर्दै अन्य प्रदेशमा समेत लागू गर्न सकिने सम्भावनाबारे छलफल गरिने आयोजकले जनाएको छ।
संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेकाले प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गरी समाधानका लागि एकीकृत धारणा बनाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ। प्रदेशहरूबीच आर्थिक गतिविधि, उत्पादन तथा व्यापार प्रवर्द्धन, प्राकृतिक स्रोतको उपयोग र पर्यटन विकासमा सहकार्य बढाउने विषय पनि सम्मेलनका प्राथमिकतामा रहनेछन्। सम्भव भएसम्म मंगलबार नै सम्मेलनका सबै कार्यक्रम सम्पन्न गरेर बुधबार घोषणापत्र जारी गर्ने र पत्रकार सम्मेलन गर्ने तयारी छ,’ सुवेदीले भने।
सम्मेलनको मुख्य कार्यक्रम विराटनगरको रोडशेषचोकस्थित बिग होटलमा आयोजना हुनेछ। पाहुनाको समयअनुकूल कोशी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गराउने तयारीसमेत गरिएको छ। कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशको पहिचान झल्किने उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।
योजना आयोगका उपाध्यक्ष निरौलाले सम्मेलनले प्रदेश सरकारका साझा समस्या पहिचान गरी संघीय सरकारसमक्ष एकीकृत धारणा प्रस्तुत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रदेशहरूबीच सफल अभ्यास आदानप्रदान गर्दै विकास र सेवा प्रवाहमा सहकार्यका सम्भावना पहिल्याउन सम्मेलन महत्त्वपूर्ण हुने उनको भनाइ छ। कोशी प्रदेश सरकारले सम्मेलनलाई अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा मात्र नभई संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने र अन्तरसरकारी समन्वय सुदृढ गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा लिएको छ।