© २०२३
बुटवल, २८ माघ ।
रुपन्देहीमा प्रथम अन्तर प्रदेशस्तरीय स्ट्रेन्ट लिफ्टिङ तथा ईनक्लिन बेन्च प्रेस च्याम्पियनसीप २०७९ सुरु भएको छ । शनिबार रुपन्देही खेलकुद विकास समितिको कार्यालय परिसरमा भएको प्रतियोगिताको एक समारोहका बीच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उदघाटन गर्दै लुम्बिनी खेल विकासमा एकतावद्ध हुनुपर्ने बताए । प्रतियोगितामा जज केदारमान स्थापित, खेलाडी शैलेन्द्र कशौधनले सपथ लिएर खेल सुरु गरिएको थियो ।
कार्यक्रममा संघका केन्द्रीय महासचिव जीवन गिरिले काठमाडौमा हुन गैरहेको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन छनौटका रुपमा प्रतियोगिता आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल स्ट्रेन्थलिफ्टिङ्ग फेडरेशनका केन्द्रीय सदस्य विजेन्द्रमान श्रेष्ठले प्रतियोगितामा लुम्बिनीसहित कर्णाली, सुदुरपश्चिमका गरी ३ प्रदेशका ३ सय बढी खेलाडीहरुले ईनक्लिन बेन्च र बाईसेक कर्ल, हेकलिफ्ट गरी दुई विधामा प्रतिष्पर्धा गर्ने बताए । पुरुष ५२ केजी, ६० केजी, ६८ केजी, ७६ केजी, ७६ केजी प्लस गरी ५ तौल समूह, महिलातर्फ ५८ केजीमाथि, ५८ केजी तौल मुनि गरी दुई ईभेन्ट र मास्टर्स ४० वर्षमाथि खुला समुहमा प्रतियोगितामा खेलाडीहरुले भाग लिएका छन् ।
प्रतियोगितामा ३ लिफ्टमा खेलाडीको तौलको आधारमा भार तौल उठाउने त्यस आधारमा स्कोरका आधारमा विजेता घोषित गरिने उनले बताए ।