Butwal Today

मणिमुकुन्द रनिङ कप भलिबलको उपाधी स्याङ्जाले जित्यो

२८ माघ २०७९, शनिबार
अ+
अ-

बुटवल, २८ माघ ।

८ औं मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जिल्ला भलिबल संघ नवलपुरलाई ३-१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधी जितेको हो ।

पहिलो सेट २५-२३ ले हारेको स्याङ्जाले त्यस पछिका ३ सेट २५-१३,२५-२३ र २५-१६ अंकले जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच स्याङ्जाका हरि पाण्डे भए । स्याङ्जाले यो प्रतियोगिताको उपाधी पाँचौपटक जितेको हो । लुम्बिनी र गण्डकीका ९ टिमको सहभागिता रहेको प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वत तेस्रो भएको छ ।

उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो भएको टिमले १ लाख ५० हजार र दोस्रो हुने टिमले १ लाख नगद पुरस्कार पाएका छन् । तेस्रो स्थान हासिल गरेको पर्वतले नगद राशी ५० हजार र सान्त्वना भएको जिल्ला भलिबल संघ गुल्मीले नगद ३० हजारमा चित्त बुझाउनु परेको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडी बन्दै जिल्ला भलिबल संघ स्याङजाका सञ्जुविक्रम शाहले नगद १० हजारसहित कप तथा प्रमाणपत्रले सम्मानित भएका छन् । यसैगरी विधागत तर्फका बेस्ट सेटरमा जिल्ला भलिबल संघ पर्वतका सुवास कुंवर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर जिल्ला भलिबल संघ स्याङजाका राजन दर्लामी, बेस्ट ब्लकर नवलपुरका सन्तोष राना, वेस्ट स्पाइकर नवलपुरका अशोक श्रेष्ठ, वेस्ट सर्भर स्याङजाका विजय थापा, अनुशासित खेलाडी स्याङजाका सुदिप राना हुन सफल भएका छन् । यस्तै वेस्ट कोचका रुपमा पनि स्याङजाकै अमृत केसी बन्न सफल भए । उनीहरुले जनही नगद ५ हजार पुरस्कार राशीसहित कप र मेडल प्राप्त गरेका छन् ।