© 2026
चन्द्रौटा ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाका नागरिकको गाउँमै स्वास्थ्य उपचार पाउने आशा निराशामा परिणत भएको छ ।
सामान्य बिरामी हुँदा टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता उनीहरूका लागि हटेको थियो । उनीहरू बिरामी हुनासाथ आधारभूत अस्पताल पुग्थे । तर, अव अस्पताल बन्द भएपछि यशोधराका नागरिकको उपचार पाउने आशा मरेको छ । अस्पताल सञ्चालनमा रहँदा दैनिक करिब ८० जना बिरामीले सेवा लिने गरेका थिए । तर अहिले त्यही अस्पताल बन्द भएको छ । स्थानीयले गाउँमै पाउँदै आएको चिकित्सकीय सेवा गुमाउँदा उनीहरू चिन्तित बनेका छन् ।
यशोधरा गाउँपालिकाले स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि अस्पताल बन्द भएको हो । गत जेठ २९ गतेदेखि दरबन्दी कटौती भएपछि अस्पताल सेवा बन्द भएको छ । सेवा बन्द भएपछि चालु आर्थिक वर्षदेखि उक्त अस्पताल संस्था स्वास्थ्य चौकीका रूपमा मात्र सञ्चालित भएको छ । स्रोतका अनुसार गाउँपालिकाले अस्पताल भवन निर्माण सम्पन्न नहुँदै स्वास्थ्य चौकीबाटै आधारभूत अस्पतालको सेवा सुरु गरेको थियो । करारमा नियुक्त स्वास्थ्यकर्मीको भरमा सञ्चालन हुँदै आएको अस्पतालमा आवश्यक पूर्वाधार र स्थायी जनशक्तिको व्यवस्था हुन सकेन । त्यसका अतिरिक्त स्वीकृत दरबन्दीबाहेकका कर्मचारी हटाइएपछि अस्पतालको सेवा नै बन्द भएको स्रोतको भनाई छ ।
यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले दरबन्दीबाहेकका कर्मचारी हटाइएपछि अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति अभाव भएको बताए । आन्तरिक दरबन्दी सिर्जना नगरी करार सेवामार्फत कर्मचारी व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरिएको उनको भनाइ छ । अस्पताल सञ्चालनमा रहँदा स्थानीयले चिकित्सकीय परामर्श, प्रयोगशाला परीक्षण र भिडियो एक्सरेलगायतका सेवा नागरिकहरूले गाउँमै पाउँदै आएका थिए । अहिले ती सेवा उपलब्ध छैनन् ।
उता स्वास्थ्य चौकी प्रमुख केशवराज घिमिरेले स्वास्थ्य संस्थाबाट प्रदान गरिने नियमित स्वास्थ्य सेवा, प्रसूति सेवा र सुरक्षित गर्भपतन सेवामा मात्रै सीमित हुनुपरेको बताए ।
स्थानीय हजरत अली अस्पताल बन्द भएपछि सामान्य उपचारका लागि समेत अन्य स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था आएको बताउँछन् । गाउँघरमै उपचारको सुविधा उपलब्ध हुँदा सहज भएकोमा अहिले अस्पताल बन्द भएपछि स्थानीयवासी समस्यामा परेको समेत उनको भनाइ छ ।
भवन निर्माण, कर्मचारीको दरबन्दी र सेवा सञ्चालनको दीर्घकालीन व्यवस्थापन सुनिश्चित नहुँदा गाउँमै उपचार पाउने स्थानीयको सपना अधुरै बनेको छ । अस्पतालको सेवा पुनः सञ्चालन गर्न आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापनको व्यवस्था गर्नु गाउँपालिकाका लागि चुनौती थपिएको छ ।
अस्पतालका तत्कालीन चिकित्सक डा। अमूल्य पाठकले अस्पताल सञ्चालनमा रहँदा दैनिक करिब ८० जना बिरामी उपचारका लागि आउने गरेको बताए । उनका अनुसार एक चिकित्सकसहित १८ जना कर्मचारीले सेवा दिँदै आएको अस्पतालमा आठ जना अस्थायी कर्मचारी थिए ।