© 2026
भैरहवा ।
विश्व बौद्ध धम्म संघ, नेपालको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय बौद्ध सम्मेलन शनिबार धकधइमा सम्पन्न भएको छ। सम्मेलनमा भगवान् गौतम बुद्धका उपदेश, बौद्ध धम्मको महत्त्व तथा सामाजिक रूपान्तरणमा डा। भीमराव अम्बेडकरले पुर्याएको योगदानबारे चर्चा गरिएको छ।
कार्यक्रममा भन्ते नन्द रतनले देशना दिँदै भगवान् बुद्धका शिक्षा, शान्ति, अहिंसा, करुणा, मैत्री र समानताका सिद्धान्तबारे प्रकाश पारे । उनले बुद्धका उपदेशलाई व्यवहारमा उतार्न सके समाजमा विद्यमान विभेद, असमानता र द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने सन्देश दिए ।
सम्मेलनमा डा। भीमराव अम्बेडकरले सामाजिक न्याय, समानता, मानव अधिकार र जातीय विभेदविरुद्धको अभियानमा पुर्याउनुभएको योगदानबारे समेत चर्चा गरिएको थियो। सहभागीहरूले बुद्धका विचार र अम्बेडकरको सामाजिक परिवर्तनको अभियानलाई समाजमा समानता, बन्धुत्व र न्याय स्थापित गर्ने आधारका रूपमा लिनुपर्ने धारणा राखेका थिए।
रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभापति रुद्रमणि बौद्ध रहनुभएको थियो। कार्यक्रममा बुद्ध अम्बेडकर जागरण मञ्चका केन्द्रीय अध्यक्ष हरिओम विश्वकर्मा, नेपाल बौद्ध समाजका कोषाध्यक्ष हरि बौद्ध तथा अनोमाघाट बौद्ध बिहारका अध्यक्ष सुग्रीम यादवको विशेष आतिथ्यता रहेको थियो।
सम्मेलनले बुद्धका शान्ति, करुणा र समानताका सन्देशलाई समुदायस्तरसम्म पुर्याउन तथा डा। अम्बेडकरले अघि सारेका सामाजिक न्याय र समानताका विचारलाई आत्मसात् गर्नुपर्ने आवश्यकतामा जोड दिएको थियो।
विश्व बौद्ध धम्म संघ, नेपालको आयोजनामा भएको सम्मेलनले बौद्ध धम्मको दर्शन, बुद्धका उपदेश तथा सामाजिक न्यायका विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।