© 2026
भैरहवा ।
अध्ययन र पर्याप्त जानकारी बिना सेयर बजारमा लगानी गर्दा पूँजी गुमाउने जोखिम बढ्ने भन्दै लगानीकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ । कम्पनीको वित्तीय अवस्था, प्रतिफल र व्यावसायिक पृष्ठभूमि नबुझी सामाजिक सञ्जालको सूचना वा अरुको देखासिकीमा सेयर खरिदबिक्री गर्दा ठूलो आर्थिक क्षति हुन सक्ने सरोकारवालाहरुले बताएका छन् ।
इन्फोमेरिक्स रेटिङ नेपालको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवाको सहकार्यमा शुक्रबार भैरहवामा आयोजित ‘लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले वित्तीय साक्षरता, लगानी जोखिमको मूल्याङ्कन र क्रेडिट रेटिङको महत्वमा जोड दिएका हुन् ।
कार्यक्रममा इन्फोमेरिक्स रेटिङ नेपाल प्रालीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रविन पुडासैनीले व्यवसायको दीर्घकालीन स्थायित्व कायम राख्न क्रेडिट रेटिङ महत्वपूर्ण हुने बताए । उनका अनुसार क्रेडिट रेटिङले कुनै संस्था वा कम्पनीको वित्तीय अवस्था, पारदर्शिता र वित्तीय अनुशासनलाई तेस्रो पक्षबाट निष्पक्ष रुपमा मूल्याङ्कन गर्छ ।
उनले क्रेडिट रेटिङलाई कम्पनीको समग्र स्वास्थ्य परीक्षणसँग तुलना गर्दै यसले बैंक तथा वित्तीय संस्था र लगानीकर्तालाई वित्तीय जोखिम बुझ्न तथा उपयुक्त निर्णय लिन सहयोग पुर्याउने बताए । नेपाल राष्ट्र बैंकले सन् २०१८ मा ५० करोड रुपैयाँभन्दा बढीको कर्जाका लागि क्रेडिट रेटिङ अनिवार्य गरेपछि यसको महत्व थप बढेको उनको भनाइ थियो ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएको नेपालको तेस्रो क्रेडिट रेटिङ एजेन्सी रहेको र इन्फोमेरिक्स नेपाल, भारतको धितोपत्र तथा विनिमय बोर्डमा दर्ता र भारतीय रिजर्भ बैंक बाट मान्यताप्राप्त क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एन्ड रेटिङ लिमिटेडको सहायक कम्पनी भएको पुडासैनीले बताए ।