© 2026
काठमान्डौँ ।
काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके आर्यन माझी विभिन्न २७ वटा डाँका तथा चोरीका मुद्दामा संलग्न रहेको खुलेको छ ।
प्रहरीले बुधबार राति पौने १० बजेको समयमा गोली चलाएर माझीसहित तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार माझी यसअघि विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा, काभ्रे तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा डाँका तथा चोरीसम्बन्धी २७ वटा मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार पक्राउ परेकाहरूले काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने तथा बाटोमा हिँडिरहेका व्यक्तिका सिक्रीलगायतका सामान लुट्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–५ का राकेश थिङ र बकैया गाउँपालिका–७ का मनोज कुमार मोक्तान पनि छन् । प्रहरीका अनुसार लुटपाटका क्रममा थिङ मोटरसाइकलको पछाडि र मोक्तान अगाडि बसेका थिए ।
एसएसपी घिमिरेका अनुसार उनीहरूलाई गम्भीर उत्तेजना वा आवेगमा कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।