© 2026
‘म दर्शन र सिद्धान्त उति रुचाउँदिन, न त बुझ्छु नै । कुनै बेला ती मलाई रुचिका कुरा लाग्थे, तर मेरो जीवन दर्शन र सिद्धान्तले अघि बढेन । मलाई त सधैं सिद्धान्त र दर्शन भन्दा कामले आकर्षित ग¥यो । सिद्धान्तको कुरा गर्नेले काम गर्दैनन्, दर्शनको कुरा गर्नेले काम गर्न सक्दैनन् । त्यसैले म कामलाई बढी महत्व दिन्छु’ – लि क्वान यू ।
समयले जुराएको संयोग हो कि दुर्योग हो यो ? सोच्न पर्ने भो । प्रायः सबै दलका राजनीतिक सिद्धान्त, दर्शन, विचारका बहस सुनेर, एकल सहित यो वा त्यो गठबन्धनको सरकार व्यहोरेर, थाकेका जनताले खोजेका थिए ती भन्दा नयाँ कोही आओस् भनेर । अकल्पनीय तरिकाले आयो त्यो पनि । अनि भन्थे – कुरा भन्दा काम गरेर देखाओस् ।’ देखिदै छ त्यस्तै ।
बोल्नै खोज्दैनन् प्रधानमन्त्री । गफाडीहरूको अखडा बनेको संसदमा त जानै चाहँदैनन् । सवाल जवाफको कुरा त धेरै टाढाको विषय भयो । पुरै चुनावभरि जम्मा २७ मिनट बोलेका रहेछन्, । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा पनि जान चाहेकै थिएनन् । सबैले कर गरेर, जान बाध्य पारेपछि गएर, जम्मा १५ मिनेट बोलेर, विश्व चर्चित भए ट्रम्पले भन्दा दोब्बर दर्शक र श्रोता बटुलेर । कुराले भन्दा कामले जवाफ दिने बालेनको विचार लिक्वान् यूको जस्तो होला कि नहोला ? समयले आफै देखाउला । जति परिवर्तनको रट लगाए पनि व्यक्ति र शक्तिपूजामा अभ्यस्त छौं हामी । सवै चाड–पर्व, परम्परा, धर्म, संस्कृति, संस्कार, आचार, विचार र व्यवहारहरू त्यस्तै छन् ।
‘जो देता है वही देवता कहलाता है’ भन्ने गरिन्छ समाजमा पनि । सुरु भएको छ दशैंको मेलो । सोह्रश्राद्धको चलेको छ खेलो । सकिदासाथ सुरु हुन्छ नवदुर्गा भवानीको भक्ति र पूजा । कसैले ब्रत बसेर र कसैले बलि दिएर । त्यसपछिको तिहार पनि धन धान्यकी देवी लक्ष्मीको पूजा गरेर मनाइन्छ, जान्छ । यस्ता जति पनि पर्व छन्, व्यक्ति र शक्तिमा आधारित हुन् । राम, कृष्ण, शिव, विष्णु र ब्र्रह्माको स्तुति र भक्ति गर्नु हाम्रो पूख्र्यौली परम्परा हो, सम्प्रदायको कुरा भो । राजनीति पनि उस्तै गति र मतिले चलेको देखिन्छ ।
विचार, सिद्धान्त र दर्शनको कुरा गरेर नथाक्ने कम्युनिष्टहरूले माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, होचि मिन्ह, फिडेल क्यास्ट्रो र चे ग्वे भाराको नाम लिन्छन् । उनीहरूका शक्तिप्रदायक व्यक्ति तिनै हुनाले । परम्परागत धर्म र शक्तिचाहिँ नमान्ने, तर परिवर्तनका संबाहक वा नायक भन्दै विदेशी व्यक्ति र विचारको पृष्ठपोषण गर्नेहरूले पारेको प्रभाव कति छ ? भन्नै पर्दैन । राजनीति पनि धार्मिक सम्प्रदाय जस्तै भएको छ नेपालमा ।
लोकतन्त्रवादीले गान्धी, नेहरू, जयप्रकाश नारायण, लोहियाको महिमा गान गर्छन् । उनीहरूका जुक्तिदाता र मुक्तिदाता तिनै मानिन्छन् । राजावादीहरूले आफुलाई प्रजा ठानेर सोही अनुसार गर्छन् । तिनीहरूका सिद्धान्त, दर्शन र विचारले कति फरक पा¥यो, भोगिएकै हो, देखिएकै छ । न कम्युनिष्ट, न लोकतन्त्रवादी, न राजावादी भन्न रुचाउँछ रास्वपाले । सिद्धान्त, विचार र दर्शनका कुरा गर्नै चाहँदैनन् प्रधानमन्त्री बालेन शाह । सामाजिक लोकतन्त्रको कुरा गरेका छन् रवि लामिछानेले । के गर्छन् ? हेर्न बाँकी छ । जे गर्लान्, देखिएला र भोगिएला ।
सिद्धान्त र आदर्श विचारका बहसबाट वाक्क भएर कुरा भन्दा काम गर्ने नेता खोजेका जनताले विकल्प खोजे । अकल्पनीय उत्साहका साथ बालेन शाहको नेतृत्वमा युवा जमातको सरकार बनेको ६ महिना भयो । कस्तो रह्यो ? विपक्षीका लागि पुरै असफल, समर्थकका लागि सफल र असल । साधारण जनतका लागि भने सफल न असफल ! औसत । तर विगतका सरकारका तुलनामा सुधारका प्रयास थालेको, पुरा गर्न केही पनि नसकेको । भ्रष्टाचारका काण्डमा नमुछिएको, कर्मचारीलाई कार्यालयमै कजाउन सकेको, बिचौलियाको बिगबिगी रोकेको, माफियाको मनपरी चल्न नदिएको, शिक्षक र कर्मचारीलाई राजनीतिबाट अलग राख्न प्रयास गरेको जस्ता विषयले राम्रै प्रभाव पारेको देखिन्छ । तर जसले त्यही गरेर जीवन धानेका थिए, तिनीहरू मुर्मुरिनु नाजायज होइन । यसर्थ सरकार सफल भएको छैन र असफल भएको भन्न पनि मिल्दैन ।
जोश, जाँगर, उत्साह र प्रविधिमा पोख्त भएका युवाहरूका टोलीले अवसर पाएका छन्, तर अनुभव छैन । पुरानै पारामा अभ्यस्त संयन्त्रले आफ्नो बानी छाड्न सक्दैन । नयाँसंग पुरानाहरूको गति र मति मिल्दैन । अनि पुरानासंग नयाँको सोच र शैली पनि मिल्दैन । नमिलाई सुख छैन । सत्तामा शक्ति र भक्तिको तानातान चलेको देखिन्छ । एकले अर्कोलाई आरोप लगाउने परिपाटी उस्तै छ । फरक त के मात्रै भयो भने, पुरानाले अलि बढी गफ् दिन्थे । मञ्च, माइक, खादा, माला र भाषण गर्ने कलामा निपूर्ण देखिन्थे । सभा, सम्मेलन, उद्घाटन, स्वदेश र विदेश भ्रमण, शिलान्याश, सेमिनार, गोष्ठी त कति चल्थे चल्थे ।
त्यो सवै रोकिएको छ । बरु आवश्यक पर्ने ठाउँमा समेत नजाने, गर्नुपर्ने काममा ढिलासुस्ती गर्ने, सदनकै मान मर्दन गर्न पछि नपर्ने, जवाफदेही नहुने, संसदीय अभ्यासमा अभ्यस्त हुन नचाहेजस्तो देखिदा पुरानै परिपाटीमा रमाएकाहरूलाई खल्लो लागेको छ । सम्मानपूर्वक छर–छिमेकीले बोलाउँदा समेत नजाने, राजनीतिक र कुटनीतिक पहल नगर्ने, नथाल्ने, अघि–पछि नहेर्ने, कसैलाई नटेर्ने र एकोहोरो चल्ने गर्दा एक्लिन परेको छ । लोकलज्जा निवारणकै लागि सहयोग गर्न खोजेका विपक्षीलाई समेत वास्ता नगर्नाले असहयोगतिर लाग्नपर्ने वातावरण सिर्जना गर्दा द्वन्द्व बढ्ने सम्भावना देखिएको छ । सरकार बन्ने बेलाको जस्तो उत्साह छैन, मर्दै गएको छ । आफ्नै कारणले एक्लो पर्दै गएको छ ।
समयले साथ दियो, जनताले पनि विकल्प खोजेर सत्तामा त पुगे । तर लामो समयदेखि राजनीति गरेर, सिद्धान्त र विचारका बहसमा अरूलाई पछारेर अगाडि बढेको तप्का थिएन । कुरा भन्दा बढी काम गरेर देखाउने हुट्हुटी देखिन्थ्यो । गत भदौ १० गतेको हिमाली सुनामी र यही असोज ८ देखि १२ गतेसम्म परेको झरीले त्यसलाई पनि बगाईदियो । एकोहोरो तालले सहजै चल्न सक्ने अवस्था छैन । त्यसैले राष्ट्रिय संकटको बेला हो यो । सत्ता र बिपक्षी दलले राजनीतिको रथ आफ्नै तरिकाले हाँक्ने योजना बनाएको देखिन्छ । मिलेर संकट समाधान गर्नतिर लाग्न भन्दा झडप बढाएर, शक्ति देखाएर, सत्ता कब्जा गर्न खोज्दा नतिजा कस्तो निस्केला ? सोचनीय छ ।
राष्ट्रिय संकटका बेलामा पनि राजनीतिक सत्ता र शक्तिका बीचमा सौदाबाजी चल्दै छ । छठपछि सत्ता ढाल्ने आन्दोलनतिर लाग्ने कि पुनःनिर्माण र पुनःस्र्थापनतिर ? बाटो रोज्ने आफैले हो । जता लाग्दा फाइदा होला ? हिसाव किताब नगरिएको नहोला । जता लागे पनि एकले अर्कोलाई आरोप लगाउन छाडिदैन राजनीतिमा । सफल र असफल हुने प्रतिस्पर्धाको तयारी दुवै थरिले गरेको देखिन्छ । यस्तो तयारीले काम गर्नेको बाटो छेकिन्छ ।
कसले कसरी छेक्न खोज्यो वा अगाडि बढ्ने बाटो रोज्यो भनेर मजाले बुझ्नसक्ने सचेत जनता छन् । जसले जनताको साथ पाउलान्, उनीहरू सफल होलान् । नपाउनेहरू असफल होलान् ।