© 2026
नेपालगञ्ज ।
तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जितेका छन् ।
बाँकेको राप्तीसोनारी २ मदुवामा भएको दौडमा १० किलोमिटर खुला महिलातर्फ स्वस्तिकाले प्रथम स्थान हासिल गर्दा रीता कुसारी दोस्रो र नन्दिता थारु तेस्रो भए । खुला पुरुषतर्फ टेकेन्द्रसँगै निराजन चौधरीले दोस्रो र प्रशान्त तामाङले तेस्रो स्थान हासिल गरे ।
राप्तीसोनारी पालिका अन्तर्गतका स्कुल स्तरीय छात्रतर्फ भबिन्द्र बोहरा, समिर थारु र बिशाल यादवले क्रमशः शीर्ष तीन स्थान हासिल गर्दा छात्रातर्फ ३ किलोमिटरमा रेणुका चौधरी, अनुजा थारु र निस्मा थारु क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

तीन सय बढी धावकको सहभागिता रहेको दौडमा सबै विधाका शीर्ष तीनजनालाई नगद तीन हजार, दुई हजार र एक हजार सहित पदकले पुरस्कृत गरियो । जर्मनीमा बसोबास गर्दै आएका मदुवानिवासी पुर्व राष्ट्रिय खेलाडी तीर्थ ओलीको पहलमा धारा नेपालगन्ज म्याराथनको भगिनी दौड कार्यक्रमका रुपमा राप्तीसोनारी नेचर रन हरेक वर्ष हुँदै आएको छ ।
स्कुले बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउन र प्राकृतिक स्रोत साधनको जगेर्ना एवं सदुपयोग सम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्तीसोनारी नेचर रन हरेक वर्ष सन्चालन गरिदै आएको धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख समेत रहेका ओलीले बताए । यसका शीर्ष दश जनालाई मंसिर १२ गते हुने धारा नेपालगन्ज म्याराथनको १२औं संस्करणमा स्वतः सहभागिता दिइने रेस डाइरेक्टर चन्द्र गुरुङले जानकारी दिए ।
एक किलोमिटर वाकाथनमा राप्तीसोनारी गाउँ पालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णाकेसी नमुना लगायत झण्डै सय जनाले भाग लिएका थिए । पालिका अध्यक्ष पौडलले दौडको उदघाटन गर्दै तेस्रो संस्करणदेखि सिंगो पालिका र वडा नं २ ले समेत अपनत्व लिएको जानकारी गराउँदै यसको निरन्तरताको आधार तयार भएको बताए ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी, वडाध्यक्ष ज्ञानेन्द्र ओली, धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी लगायतले विजयी खेलाडीलाई पुरस्कार बितरण गरेका थिए ।