© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन वर्षाका कारण केही प्रभावित भएको छ ।
पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारमाथि दाबी–विरोधको प्रक्रिया चलिरहेका बेला वर्षा भएपछि महाधिवेशनका गतिविधि प्रभावित भएका हुन् । निर्वाचनस्थल र बन्दसत्रस्थलमा रहेका महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारका समर्थकहरू वर्षाका कारण तितरबितर भएका छन् ।
निर्वाचन समितिले आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गरेपछि केही समयअघि मात्रै दाबी–विरोधको प्रक्रिया सुरु भएको थियो। यद्यपि, बन्दसत्र भने अझै सुरु हुन सकेको छैन ।
आज बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गर्ने कार्यतालिका रहेको छ । त्यससँगै निर्वाचन प्रक्रिया पूरा गर्ने र बिहीबार हुने मतदानको तयारी गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी चयन हुनेछन् । त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ। त्यसअनुसार निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।
विधानअनुसार वरिष्ठ उपसभापति एक तथा समावेशी समूहअन्तर्गत महिला उपसभापति एक र खुलातर्फ दुई उपसभापति निर्वाचित हुने व्यवस्था छ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । त्यस्तै, महिला उपसभापतिमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ ।
शर्मा र भुसाल दुवै हाल उपसभापति पदमा छन् ।