© 2026
रोल्पा ।
रोल्पामा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक तथा निजी सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । चाडपर्वका समयमा यात्रुको चाप र सवारी आवागमन बढ्ने भएकाले सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजनामा तथा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रेउघाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा ६२ जना चालकको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा ९ जनामा रक्तचापसम्बन्धी समस्या र ५ जनामा आँखासम्बन्धी समस्या देखिएको छ । आँखामा समस्या देखिएका चालकलाई थप परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाइएको जनाइएको छ ।
स्वास्थ्य परीक्षणमा जिल्ला अस्पताल रेउघाका चिकित्सक डा। मुकुन्दप्रसाद यादव, अप्टोमेट्रिस्ट सुशीला ओली तथा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दिल्लीराजबहादुर केसीलगायत सहभागी थिए ।
चाडपर्वका समयमा लामो दूरीको यात्रा, अत्यधिक यात्रु चाप, पर्याप्त आरामको अभाव र शारीरिक तथा मानसिक थकानका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले चालकको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक यज्ञराज भट्टले चालकको स्वास्थ्यसँगै सवारी साधनको अवस्था पनि दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण रहेको बताउनुभयो। चालकले नियमित स्वास्थ्य परीक्षण गराउनुका साथै पर्याप्त आराम गरेर मात्र सवारी सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जिल्लाका सबै स्थानीय तहमा पुगेर चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, ट्राफिक सचेतना र सडक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताए ।
उनले भने, “सवारी दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य अवस्था महत्वपूर्ण विषय हो । त्यसैले जिल्लाका सबै स्थानीय तहमा पुगेर चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम सञ्चालन गर्नेछौँ ।”
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत चालकको स्वास्थ्य परीक्षणसँगै सवारी साधनको यान्त्रिक अवस्था, चालक अनुमतिपत्र तथा आवश्यक कागजात, यात्रु क्षमता, तीव्र गति र मादक पदार्थ सेवनलगायतका विषयमा समेत निगरानी बढाइने प्रहरीले जनाएको छ ।
रोल्पाका पहाडी तथा घुमाउरा सडक र भौगोलिक कठिनाइका कारण चालकले थप सावधानी अपनाउनुपर्नेमा प्रहरी तथा स्वास्थ्यकर्मीले जोड दिएका छन् । स्वास्थ्य समस्या देखिएका चालकले आवश्यक उपचार र आरामपछि मात्र सवारी सञ्चालन गर्न सुझाव दिइएको छ ।